
संखुवासभा । बिपन्न समुदायका बालबालिका पढ्ने अवसरबाट बञ्चित हुन थालेपछि गाउँका स्कुलमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन थालिएको छ । गाउँ केन्द्रीत शिक्षा नीति सरकारी नारामा मात्र सिमित भएको भन्दै संखुवासभाको दुर्गम क्षेत्रका स्थानीयबासिन्दा भने आफ्नो स्कुल आफै सुधारौ अभियानमा लागेका छन् ।
शहर केन्द्रीत शिक्षामा सबैको आकर्षण बढ्दै जाँदा संखुवासभाको दुर्गम चैनपुर भ्यागुते ढुंगास्थित रहेको बालविकास आधारभुत स्कुलले भने गाउँघरकै स्कुलमा आकर्षण बढ्ने गरी पढाई सञ्चालन गरेको छ । दुर्गम क्षेत्रमा पिछडिएको र आर्थिक रुपले अति बिपन्न दलित र तामाङ समुदायका बालबालिका पढ्ने स्कुल भएकाले पनि जनस्तरबाटै स्कुलको सुधार थालिएको हो ।
स्कुलमा आर्थिक अवस्था अति कमजोर हुँदा अभिभावकले आर्थिक चन्दा दिन नसक्दा अभिभावक आफै र विद्यार्थीेले श्रमदानबाट स्कुल बनाएपछि अहिले स्कुलले आफ्नो बार्षिकोत्सव मनाउन पाउँदा अभिभावक पनि दंग छन् । स्कुल बनाउन र शिक्षामा दाताको मुख ताक्ने प्रवृति बढ्दै जादा स्थानीय आफै जुटे के हुँदैन र भन्ने उदाहरण बालबिकास आधारभुत विद्यालयले देखाएको कोशी प्रदेशकी पूर्व सांसद सरीता खड्का बताउनुहुन्छ ।
श्रमदानबाट स्कुल बनाएपछि अहिले यो विद्यालयमा बालबालिकाको आकर्षण पनि बढ्दै गएको छ । सहर र दुर्गम गाउँका स्कुलमा हुने पढाईको विभेदका कारण गाउँका बालबालिका कमजोर हुने हुँदा शहर केन्द्रीत शिक्षाको आकर्षण बढेको हो । तर, यो स्कुलले भने गाउँका बालबालिका तिक्ष्ण हुने र शहरको तुलनामा गाउँका बालबालिकाको शिक्षामा गुणस्तरीयता ल्याउन सकिने भन्दै पढाईलाई प्रभावकारी बनाउदै लगेको छ । स्कुलका प्रधानाध्यापक सुरेन्द्र तामाङले शिक्षा बालबालिकाको अधिकार भएकाले पनि पिछडिएको समुदायको वस्ती बस्ती पुगेर बालबालिकालाई स्कुल जानुपर्छ भन्ने वातावरण सृजना गरेको बताउनुहुन्छ । उहाँले अंग्रेजी माध्यमबाट पठनपाटन गरेको हुनाले विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक तामाङ बताउनुहुन्छ ।
त्यसो त, गाउँका स्कुलमा छोरीमा हुने बिभेद अन्त्य गर्न पनि यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष नि महिला हुनुहुन्छ, लक्ष्मीमायाँ अधिकारी । र पनि हुन सक्छ महिलाहरुको जनश्रमदानबाटै यो स्कुल बन्यो र अहिले स्कुल जाने बालिकाको संख्या पनि बढ्दै गएको देखिन्छ ।
आफ्ना छोराछोरीलाई गाउँकै स्कुलमा पढाउन बिहानै कुटो, कोदालो, झ्याम्पल लिएर श्रमदान गरेर गाउँकै स्कुलमा पढाउने गाउँलेहरुको सपना पनि पुरा भएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीमायाँ अधिकारीले गाउँबाटै शिक्षामा सुधार आवश्यक रहेको भन्दै नमुना विद्यालय बनाउन र विद्यालय सुधार गर्न पनि अहिले गाउँमा महिलाहरुको भूमिकाबाट मात्रै सम्भव हुने बताउनभयो ।
विद्यालय बनाउने महिलाहरुको उत्साह देखेर स्कुल बनाउन सहयोग गर्ने दाताहरुको संख्या पनि बढ्दै गएको छ । बालबालिकाको सरसफाई, कपाल काट्ने, नङ काट्ने र स्थानीय उत्पादनको दिवा खाजाको व्यवस्थाले यो दलित बस्तीका बालबालिकाको विद्यालयप्रतिको आकर्षण झनै बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्