
काभ्रे । मालपोत कार्यालय काभ्रेले जग्गा सम्बन्धी समस्या समाधानका लागि लिखत खोज्न सुरु गरेको छ ।
साविकको पिपलटार, फलाँटे र भुम्लुटार गाविस हाल भुम्लु गाउँपालिका वडा नम्बर ७ र ८ का लालपुर्जाविहिन स्थानीयलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने उदेश्यका साथ वुधबारबाट २०३६ सालदेखिका लिखत अध्ययन सुरु गरिएको प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले जानकारी दिनुभयो ।
२०३१ सालमा नापी भएर पुर्जा नपाएका १ हजारभन्दा बढी स्थानीयलाई लालपुर्जा वितरण गर्ने प्रकृया सुरु भएको उहाँले बताउनुभएको छ । कार्यालय समय बाहेक बाँकी समयमा लिखत अध्ययनको काम हुनेछ ।
वुधबारबार साँझ ५ बजेदेखी राती ९ बजेसम्म र विहिबार विहान ६ः३० बजेदेखी ९ः३० बजेसम्म मालपोत कार्यालयका ११ जना र भुम्लु गाउँपालिकाका २ जना कर्मचारीले लिखत खोज्ने कार्य गरिरहेका छन् । कार्यालय समयमा नियमित सेवा प्रदान गर्ने र बाँकी समयमा लिखत खोज्ने कार्य निरन्तर चलिरहने कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो ।
पुराना लिखत अध्ययन गर्न, धेरै लिखत मध्येबाट आवश्यक लिखत फेला पार्न चुनौती रहेको उहाँले बताउनुभयो । २०३६ सालदेखी हालसम्म १ करोड १० लाख लिखत भएको हुनसक्ने अनुमान गरिएको छ । ४४ वर्षदेखीका लिखत धेरै पुराना र धुलै–धुलो भएका छन् ।
स्वास्थ्य सावधानी अपनाई लिखत खोज्ने काम भइरहेको प्रमुख मालपोत अधिकृत दाहालले बताउनुभयो । तीन महिनासम्ममा सम्पुर्ण लिखत अध्ययन गरेर नेपाल सरकार, प्रदेश सरकार, नापी कार्यालय र गाउँपालिकालाई जानकारी गराउने कार्यालयको लक्ष्य छ ।
कार्यालयका अनुसार अहिलेसम्म १ सय भन्दा बढी लिखल फेला परिसकेको छ । भुम्लुवासीले पुर्जा नभएकै कारण भुकम्प पछिको पुनर्निमाणमा समस्या झेल्दै आएका छन् भने जग्गा सम्बन्धी कारोबार पनि रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्