४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा पर्‍यो : सभामुख घिमिरे


442
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनु भएको हो ।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।

मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाई छ । उहाँले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताउनुभयो । सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताउनुभयो ।

उहाँले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराउनुभयो ।

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैंत्री कानून निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराउनु भएको थियो ।