१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उमेर हदले सभ्य बन्दै स्ववियु निर्वाचन


299
Shares

काठमाडौं । आइतबार देशैभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो । विगतमा चुनाव लागेसँगै देखिने झैझगडा, मारपिट, भड्किला तथा अराजक चुनाव प्रचार शैलीबाट विद्यार्थी राजनीतिले मुक्ति पाएको अनुभव गरिएको छ । अहिले विद्यार्थी राजनीति पनि मर्यादित बाटोमा गएको बुझ्न सकिन्छ ।

सामान्यता विद्यार्थी राजनीतिलाई नेता जन्माउने नर्सरी भनेर बुझिन्छ । विद्यार्थी राजनीति गुणस्तरको शिक्षा विद्यार्थीको हकहितका बारेमा सधै मौन रहने गरेको धेरै उदाहरण छन् । सामान्यतया सबै खाले चुनावमा देखिने असहिष्णु प्रचार शैलीमा परिवर्तन देखिन थालेको छ । यसै वर्ष सम्पन्न संघीय, प्रदेश र स्थानीय तहका चुनाव पनि विगतभन्दा शिष्ट र मर्यादित बनेको अनुभव गरिएको थियो ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भन्नासाथ उपत्यकाका खाली भित्तो रंगाउने, एउटा संगठनले अर्को संगठनमाथि अभद्र र अशिष्ट गाली गरेर भाषण गर्ने, संगठन मजबुत भएको विद्यार्थी संगठनले कमजोरलाई सांघातिक आक्रमण गर्ने सम्मका दृश्य आँखा अगाडि आउँछ ।

यस वर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुको वातावरण यति शान्त र अनुशासित छ कि पढ्ने पढिरहेका छन । चुनाव प्रचार गर्ने पनि सभ्य तरिकाले मत मागिरहेका छन् । प्रतिस्पर्धीहरुमा पूर्वाग्रहको रागभन्दा स्नेहको अनुराग बढी देखिन्छ । चुनावमा उमेर हद २८ मा सीमित गरिँदा अनपेक्षित सुधार आएको विद्यार्थीहरुको बुझाइ छ ।

हुनपनि एकथरि विद्यार्थी राजनीति गर्नेहरु चुनावमा उम्मेदवार बन्नकै लागि क्याम्पस भर्ना हुने प्रवृत्ति थियो । यसपटक चुनावअघि नै त्रिभुवन विश्वविद्यालयले भौतिक सामाग्रीको प्रचार सामग्रीमा प्रतिवन्ध लगाएको थियो । केही दिनअघि रत्नराज्य क्याम्पसमा भएको खुकुरी प्रदर्शनको अपवादबाहेक नाराबाजी, झडप र तालाबन्दीका घटना सुनिएको छैन । आन्तरिक व्यवस्थापन नमिल्दा केही क्याम्पसमा अर्को तिथि तोकेर चुनाव हुने छ । विद्यार्थीको उमेरको हदका कारण विद्यार्थीको निर्वाचन सभ्य भएको विद्यार्थीहरु बताउछन् ।

मतदानको दिन मतदान केन्द्रमा मोबाइल, पानीका बोतल लैजान निषेध गरिएको छ । त्रिभुवन विश्वविद्यालयले बनाएको आचारसंहितालाई विद्यार्थी संगठनहरुले तन, मनले सघाउने प्रतिवद्धता जनाएका छन् । माउ पार्टीको स्वार्थका लागि टायर बाल्ने, हडताल गर्ने, मसाल जुलुस र तोडफोडमा उत्रिने शैलीमा देखिएको परिवर्तनलाई सबैले रुचाएका छन् ।

यो विद्यार्थी राजनीतिको इज्जत फर्काउने मौका पनि हो । यस संगसंगै । गुणस्तरीय शिक्षाबारे सधै मौन रहने विद्यार्थी नेताहरुले पनि अवको निर्वाचन पछि त्यस तर्फ ध्यान दुनु जरुरी छ । त्यसो त देशको जेठो प्रज्ञा र चेतनाको धरोहर मानिने त्रिभुवन विश्वविद्यालय आफ्नो क्यालेण्डरमा परीक्षा सञ्चालन गर्न समेत असक्षम हुन थालिसकेको छ । राजनीतिक भर्ती केन्द्रका कारण विश्वविद्यालयको आन्तरिक प्रशासन यथास्थितिमा समेत चल्न नसक्ने अवस्थामा पुगिसकेको छ ।