
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परिक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरुको लागि संचालित पूर्वव्यवसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाई थियो । उहाँले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेपनि आफूहले न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दाबी समेत गर्नुभयो ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीहरुलाई पनि आग्रह गर्नुभयो ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतलाई अटोमेशन सिष्टममा लैजान खोजेपनि सोत, साधनको अभावका कारण त्यो कामलाई अघि बढाउन नसकिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्