
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको कार्यशैलीप्रति कार्यपालिका सदस्य र वडा अध्यक्षहरुले सामूहिक रूपमा विरोध गरेका छन् ।
नगरवासीको गुनासो र स्थानीय संघ संस्थाको सामान्य माग समेत प्रमुख पौडेलले बेवास्ता गर्न थालेपछि कार्यपालिका सदस्यहरुले बैठक नै बहिस्कार गरेर खुलेरै विरोध गर्न थालेका हुन् । उपमहानगरमा उद्याेग, ब्यापार, शिक्षा, स्वास्थ्य, आन्तरिक कर लगायतका विषयमा छलफल गर्न पुग्ने सम्वद्ध संघ संस्था प्रतिनीधि तथा गुनासो लिएर जाने नगरवासीलाई प्रमुख पौडेलले बेवास्ता गरेपछि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले जनप्रतिनिधि जनता केन्द्रित हुनुपर्छ भन्दै १३ औं कार्यपालिका बैठक बहिस्कार गरेका हुन् ।
उपमहानगरका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर केसीले विभिन्न समस्याहरु लिएर आएका स्थानीय तथा संघ संस्थाका प्रतिनिधिको कुरा नसुकेकै कारण आफूहरुले बैठक नै बहिस्कार गर्नु परेको बताउनुभयो ।
केही हप्ता यता सवारी कर, ब्यावसायिक कर, नदिजन्य पदार्थ, निजी विद्यालय, साना सवारी लगायतका संघ संस्थाहरुको प्रतिनिधिहरुले छलफल गर्न गरेको आग्रह प्रमुख पौडेलले बेवास्ता गर्दै विधि र पद्धतीमा उपमहानगर चल्छ, भेटन आवश्यक छैन भनेर फर्काएपछि वडामा ब्यापक रूपमा गुनासो आएपछि प्रमुख पौडेलको कार्यशैलीको विरोध गर्न थालिएको उनीहरुले बताएका छन् ।
पौडेलको एकोहोरो अडानका कारण उपमहानगरको आन्तरिक आयतर्फका सबै प्रकारका करको संकलन कमजोर बनेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएकाे छ । ठूलो आय श्रोत मानीने नदिजन्य पदार्थ बिक्री वितरण अस्तब्यस्त बनेको छ ।
प्रवक्ता केसीले नगरवासी तथा ब्यावसायीको कुरा पहिलो प्राथमिकतामा राखेर उपमहानगरको सम्बोधन नै आफूहरुको प्रमुख माग रहेको बताउनुभयो । केही समय अघि प्रमुख पौडेलले असहमति राख्ने वडा अध्यक्षहरुलाई प्रहरी नियन्त्रणमा लिन लगाएपछि नगरमा पौडेलको आलोचना सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्