२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विकासको पर्खाइमा रहेको इलामको साकफारा


1.508k
Shares

इलाम । इलामको साकफारा अझैपनि विकासको पर्खाइमा रहेको छ । पूर्वमा मावा खोला र पश्चिममा नुनसरी खोलाको मध्यभागको डाँडा माथिको गाँउ भुगोलका दृष्टिकोणले जिल्लाको सदरमुकामबाट बिकट मानिन्छ । यसैले पनि दु:खले हिउँदमा मोटर गुड्ने सो क्षेत्रका सडकमा बर्खायाममा भने ठप्प हुने गरेको छ ।

समथर भुभाग मोरङको मधुमल्ला हुँदै उकालो उक्लिएपछि चुरेकोे चुली, पाखा हुँदै खनिएको बाटोको यात्रा पछि पुगिन्छ साकफारा गाँउ । सबिकको साकफारा गाविस र हालको चुलाचुली गाँउपालिका ६ मा अबस्थित सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर समेत भन्ने गरिन्छ ।

चुरेको पहाडको टुप्पो बाट खोलीएको सडक अनि सडकको दुबै भागका फेदमा बहने दुई खोला यसैले पनि सो सडकको यात्रा निकै जोखिमपुर्ण छ । बर्खाको समयमा यहि बाटो ५ देखि ८ घण्टा पैदल हिँडेपछि मात्र ओहोरदोहोर गर्न सकिन्छ ।

एमाले नेता सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यस क्षेत्रका नागरिले सडकको सास्ती भोग्दै आएको धेरै भयो । विकासको पूर्वाधारहरुले जिल्लाकै पछि परेको क्षेत्रका रुपामा समेत लिइने गरेको पाइन्छ । यो क्षेत्रका बासिन्दाको किनमेल गर्ने थलो भनेको मोरङको मधुमल्ला बजार हो । सडकका दुरर्दशाका कारण बिरामीहुदाँ समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको स्थानी दिपक श्रेष्ठको भनाई छ ।

बर्खामा यो क्षेत्रका नागरिको पालिकाको केन्द्र देखि जिल्ला सदरमुकामसँगको सम्बन्ध बिच्छेद हुने गरेको छ । धेरै संघर्ष गरेर केही वर्ष अघि मात्र तोरीबारी देखि पाँचथर दारे गौणा सिमाना सम्म करिब ३० किलोमिटर दुरी रहेको बाटोको ट्रयाक जोड्न सफल भएको स्थानियको भनाई छ । यता वडाध्यक्ष दिल कुमार राईले बडाको भुगोल अन्य भन्दा ठुलो र अफ्टयारो भएकाले यस वडामा सडकको समस्या रहेको बताउनुभयो ।

उता गाँउपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाको अन्य वडाका सडक बिस्तारको काम भइसककेको भए पनि वडा नं ६ मा अन्यको तुलनामा हुन नसकेको स्वीकार्नु हुन्छ ।

पिठ्युँमा भारि, थाप्लोमा नाम्लोको भरमा पैदल ओहोरदोहोर गर्नु पर्ने स्थानीयको दिनचर्या बदलिन सकेको छैन् । दुई दिन लाग्ने उकालो, ओरालो र खोलाको बाटो हुँदै, ४ देखि सात पुस्ताले जीवन संघर्ष गरेका फुङनाम र आसेटारका रैथानेहरु बताउछन् ।

पूर्वबाट मावा खोलै खोला पैदल हिडेर मधुमल्ला बजारमा कुचो, अदुवा लगायत उत्पादन बेच्न पर्‍य उनु पर्ने अनि फर्किन्दा नुन, तेल, चामल लगायतको भारि लिएर फर्किनु पर्दाको यहाँका बासिन्दाको बाध्यताको अन्त्य कहिले हुने ? स्थानीयले यसकै जवाफ खोजि रहेका छन् ।