७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


स्ववियु नेतृत्वका लागि मतदान जारी

'मतदान हुने क्याम्पसमा सुरक्षा व्यवस्था कडा'

156
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ ।

आइतबार बिहान ८ बजेबाट नै काठमाडौं उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्मसहरुमा मतदान सुरू भएको हो ।

६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आइतबार स्ववियु नेतृत्वका लागि मतदान हुँदैछ ।

काठमाडौंको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरुमा भने आइतबार आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।

काठमाडौंका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पस लगायत अन्य क्याम्पसहरुमा मतदान सुरु भएको छ ।

बिहान ८ देखि सुरू भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ ।

विद्यार्थीहरु स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामवद्ध भएको देख्न सकिन्छ ।

स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि नियमित हुन सकेको थिएन ।