
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक बहुमत सहित विश्वासको मत प्राप्त गर्नुभएको छ ।
दाहालको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको थियो । यसअघि पहिलोपटक दाहालले गत पुस २६ मा प्रतिनिधि सभामा विश्वासको मत लिदा दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको थियो ।अहिलेको मत त्यसबेलाको भन्दा ९४ मत कम हो । त्यतिबेला दाहाललाई नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी,नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी,जनमत र नागरिक उन्मुक्ती पार्टीका सांसदले मत दिएका थिए । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने दाहालको विपक्षमा मत दिएका थिए ।
तर यसपटक भने जनमोर्चाले दाहालको पक्षमा मत दिएको छ । दाहाल गत पुस १० मा मंसिर ४ अघिको चुनाबी गठबन्धनमा रहेका दलहरुलाई छोडेर एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बन्नु भएको थियो । दाहालले ११ पुसमा प्रधानमन्त्रीमा सपथ लिनुभएको थियो भने २६ पुसमा संसदबाट विश्वासको मत लिनुभएको थियो । संसदबाट दोस्रो पटक विश्वासको मत लिंदा दाहाललाई नेकपा एमाले र राप्रपाले मत दिएनन् ।
एमालेसँगको समीकरण त्यागेर दाहाल राष्ट्रपतिको निर्वाचनमा कांग्रेसँग समीकरण बनाउन पुग्नु भयो र निर्वाचन अघिको गठबन्धनमा फर्किनुभयो । कांग्रेसले भने सरकारमा नगए पनि पुस २६ त्यतिबेला विश्वासको मत दिएको थियो । तर एमालेले भने दाहाललाई यसपटक विश्वासको मत दिएन । त्यस्तै राप्रपाले पनि दाहाललाई मत दिएन । त्यसकारण दाहालको मत यसपटक घटेको हो ।
प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरेर सांसदहरुको संख्या २७५ रहेको छ । त्यसको बहुमत भनेको १३९ हो । सोमवारको प्रतिनिधि सभा बैठकमा २६२ सांसदहरु उपस्थित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्