२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


एपीएफलाई पराजित गर्दे फ्रेण्डस क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा


221
Shares

बुटवल । विभागिय टोली सशस्त्र प्रहरीको एपीएफलाई स्तब्ध पार्दै फ्रेण्डस क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

शनिबारदेखि सुरू भएको गोल्डकपको सोमबार भएको खेलमा फ्रेण्डस एपीएफलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

फ्रेण्डसको तर्फबाट खेलको डोना थापा र विदेशी खेलाडी राफिक आमेनुले एक एक गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा २—० को अन्तर भोगिरहेको एपीएफका ९० औं मिनेट पछिको ईन्जुरी समयमा प्रविन स्याङ्तानले गोल गरेपनि जितको लागि पर्याप्त भएन् ।

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै फ्रेण्डसका राफिया एमाण्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउबाट पुरस्कार प्राप्त गरेका थिए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी छ ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । यस्तै, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ र एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।