१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डाउन सिन्ड्रोम दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइयाे


169
Shares

काठमाडौं । विश्वमा मार्च २१ अर्थात मंगलबार डाउन सिन्ड्रोम दिवसलाई विविध कार्यक्रम गरेर मनाउने चलन रहेकाे छ ।

मंगलबार नेपालमा पनि विभिन्न संघ संस्थाहरुले जनचेतनामूलक कार्यक्रम गरेर डाउन सिन्ड्रोम दिवस मनाएका हुन् । जन्मजात रुपमै देखिने डाउन सिन्ड्रोमको समस्याबाट हाल नेपालमा धेरै बालबालिका प्रभावित भएका छन् । शारीरिक र मानसिक विकास नै ढिलो हुनु डाउन सिन्ड्रोमको लक्षण हो ।

सामान्यतया डाउन सिन्ड्राम भएका बालबालिका अरुसँग बढी नै घुलमिल गर्न खोज्ने र दोहोरो कुरा गर्ने स्वभावका हुन्छन् । उनीहरु नयाँ मानिससँग रामाउने र बढी घुलमिल हुन खोज्ने स्वभावका हुन्छन् । जसले गर्दा अरु बालबालिका भने उनीहरुसँग टाढिन खोज्छन् ।

तर, सामाजिक हिसाबबाट नै उनीहरुलाई हेर्ने दृष्टिकोण फरक हुँदा समस्या हुने गर्दछ । डाउन सिन्ड्रोम भएका बालबालिका सामान्य बालबालिकाको तुलनामा हिड्न, बोल्न उठ्न, बस्न र खान सक्ने क्षमताको विकास ढिलो हुने गर्छ । यस्ता बालबालिकालाई विशेष स्याहारको जरुरत पर्दछ ।

डाउन सिन्ड्रोमलाई नेपाल सरकारले बौद्धिक अपाङगता भएको तथ्यांकमा राख्ने भएकाले डाउन सिन्ड्रोम भएकाहरुको यकिन तथ्यांक छैन । तर नेपालमा वार्षिक १५ सय बालबालिका डाउन सिड्रोमको लक्षण लिएर जन्मिने गरेको अनुमान छ । विश्वमा हरेक १ हजार बालबालिकामा १ जनामा डाउन सिन्ड्रोमको समस्या देखिने गरेको अनुमान छ ।

सामान्य मानिसको शरीरमा प्रत्येक कोषमा ४६ वटा क्रोमोजोम हुन्छन् । तर, डाउन सिन्ड्रोमको अवस्थामा भने ४६ को ठाउँमा ४७ वटा क्रोमोजोम बनेका हुन्छन् । जसका कारण यस्ता बालबालिकाको गतिविधि सामान्य बच्चाको भन्दा केही असामान्य हुने हुन्छ । फलस्वरुप शारीरिक विकास तथा सिकाईमा ढिलो हुने जस्ता समस्या देखिन्छन् ।

नेपालमा डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गरेर कोरोना संक्रमणअघि विभिन्न डे केयर तथा कार्यक्रम सञ्चालन गरिएपनि बजेटको अभावले कार्यक्रम तथा थेरापीहरु बन्द हुँदा समस्या परेको छ । डाउन सिन्ड्रोम ठिक नहुने भएपनि थेरापीमार्फत केही सुधार हुन्छ ।

तर नेपालमा थेरापी महँगो हुने गरेकाले अभिभावकलाई समस्या हुने गरेको छ। डाउन सिन्ड्रोमको समस्या भएकाहरुका लागि नेपालमा छुट्टै स्कुलको व्यवस्था छैन । भएका डे केयरहरु पनि महँगा रहेका छन् ।

डाउन सिन्ड्रोमलगायत वाैद्धिक तथा शारीरिक अपांगता भएकाहरुका लागि लक्षित गरेर स्कुल र डे केयर लगायतका विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।