२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जाको गल्याङका कृषक आलु खेतीप्रति आकर्षित


2.028k
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका क्षेत्रमा पछिल्लो समय अन्य खेती विस्थापित हुँदै गएकाे छ।

तर आलु खेतीप्रति भने यहाँका कृषकको आकर्षण बढेको हाे । गल्याङमा भएकाे आलु तथा कृषि महोत्वसले कृषकलाई झनै आलु खेतीतर्फ आकर्षित गरेको छ ।

स्याङ्जाको गल्याङमा पहिलो पटक आलु तथा कृषि महोत्सव भएको छ । करिब ५ सय रोपनी क्षेत्रफलमा दुई सय बढी कृषक र आलु खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आलु खेतीतर्फ कृषकको आकर्षण घटिरहेका बेला महोत्सवले यहाँका कृषकमा उर्जा थपेको छ । आत्मनिर्भर बन्दै आयात घटाएर निर्याततर्फ गल्याङ नगरपालिका अगाडि बढिरहेको नगर प्रमुख गुरुप्रसाद भट्टराईको भनाइ छ ।

गल्याङ चेम्बर अफ कमर्सले आयोजना गरेको दुई दिने आलु महोत्सवमा आलु पारखीले १० भन्दा बढी प्रकारका स्वाद चाख्न पाएका छन् । जिल्लाका ५ हजार भन्दा बढी कृषकले आलु महोत्सवको अवलोकन गरेका थिए ।

कृषि क्षेत्रमा क्रान्ति र उत्पादनको बजारीकरण गर्न महोत्सव सान्दर्भिक हुन्छ । आलु कृषकलाई प्रोत्साहन गर्न, उत्पादित आलुको बजारीकरण गर्न र आलुका परिकारका बारेमा जानकारी दिन गरिएको महोत्सवले निकै खुशी लागेको कृषक चन्दकान्त डुम्रेको भनाइ छ ।

महोत्सवमा आलु, धान र मकै बीउका साथै विभिन्न औजार तथा स्थानीय परिकार पनि प्रर्दशनीमा राखिएको थियो । आलुको बजारलाई एकरूपता दिदै ३५ देखि ४० रुपैयाँ प्रतिकेजीमा आलु बिक्री गरिएको छ । आलुलाई मुख्य नगदेबालीका रूपमा विकास गर्न पनि महोत्सव फलदायी भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र स्याङ्जाले कृषकका लागि हाते ट्याक्टर र बीउविजनका साथै विभिन्न कृषि औजार समेत वितरण गर्ने गरेको छ । आलुको खपत बढी रहेको र आपूर्ति कम हुँदै गएपछि आलु खेतीका लागि उपयुक्त मानिएको गल्याङमा महोत्वसले कृषकलाई आलु खेतीतर्फ आकर्षित गरेको छ ।

गल्याङ नगरपालिका–११ जिमुहामा १ सय ५० मेट्रिक टन भण्डारण क्षमता रहेको शीत भण्डार छ । भण्डारण गरेको आलु विशेष गरी बीउको रुपमा स्याङ्जासहित अन्य ११ वटा जिल्लाहरुमा समेत निर्यात भइरहेको छ ।