
तेह्रथुम । नेपाली लोक संस्कृति झल्कने नौमती बाजाहरू अहिले लोप हुँदै जान थालेका छन्।
अन्य बाजाको प्रभाव र बाजा बजाउने पेशालाई संरक्षण गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको हो । परापूर्व कालदेखि नै राज्या भिसेक, विवाह, व्रतबन्ध, पूजा र अन्य खुशीयालीका कार्यमा घन्कने लोक बाजा अन्तर्गत पर्ने नौमती बाजा लोप हुन थालेको हाे । नौमती बाजा लोप हुँदा पनि बाजा संरक्षण गर्न कुनै पनि निकायले पहल नगरेको अवस्था छ ।
नौमती बाजा बजाउनेहरुलाई जातियताको आधारमा गरिने ब्यवहार र बाजा बजाएर मात्रै जीविकोपार्जन गर्न समेत समस्या हुन थालेको छ । साथै नयाँ पुस्ताले बाजा बजाउने काम गर्न नखोजेपछि लोप हुने अवस्थामा पुगेको फेदाप गाउँपालिका–२ का देउमान नेपालीले बताउनुभयो।
नौमतीमा दुई दमाहा, दुई ट्यांम्को, दुई सनाई, एक झ्याली र दुई नर्सिङगा पर्दछन् । यसैलाई मिलाएर १०, ११ जनाको समूहले बजाउने बाजाहरु अहिले फाट्टफुट्ट मात्रामा मात्र देखिन्छन । आफू सानै छदादेखि यो बाजा बजाउदै आएको र बाचुन्जेलसम्म बजाइरहने ओयाक्जुङ गाउँका ६० वर्षीय सेतुराम नेपाली बताउनुहुन्छ।
बाजा बजाउने बुढापाकाको अनुभवमा पहिला विवाह बास बस्ने गरी हुने र बाजा समेत बजाउने काम हुने गर्थ्याे । अहिले एकै दिन मात्र विवाह हुने चलन आएको छ । पहिला जस्तो रमाइलो गर्ने र बाजा बजाउने चलन अन्त्य हुन पुगेको छ । आफ्नो छोराको विवाहका लागि नौमती बाजा बजाउने टोली मुश्किलले मात्र फेला पारेको म्याङलुङ नगरपालिका–४ पिप्लेका रामबहादुर कटुवालले बताउनुभयो।
नौमती र पञ्चे बाजाको तालमा छमछम नाचिने बाजाहरु अहिलेका विभिन्न गीत, संगीतले विस्थापित गर्न खोजेका छन् । बाजा बजाउन जान्नेहरु फाट्टफुट्ट पाइएता पनि बाजा बनाउन जान्ने त शून्य जस्तै भएको छ । बाजा संरक्षण गर्न पहल गर्नु सबैको जिम्मेवारी हो ।
साेही बाजाको राज्यबाट संरक्षणका लागि चासो देखाउन सके नेपाली कला, संस्कृति संरक्षण हुने र नेपालीपन रहिरहने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्