३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


मकवानपुर जीतपुर सिमरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश


377
Shares

बारा । मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टाईव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको हाे । मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन् ।

मकवानपुरको जितमा टाईव्रेकरमा सञ्जिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदीप श्रेष्ठले गोल गरेका थिए । मकवानपुरका अविनास खड्काको प्रहार भरतपुरका गोलरक्षकले बचाउ गरेका थिए । भरतपुरका लागि सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठले गोल गरेका थिए । टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरीएकाे थियाे । आकाश थापा मगरको प्रहार गोल पोष्टबाट रिबाउण्ड भएकाे थियाे ।

निर्धारित समयको खेलमा मकवानपुरले खेलको दशौं मिनटमै २–० को अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको हाे । मकवानपुरले खेलको चौंथो मिनेटमा सुजन गुरुङको गोलबाट अग्रता बनायो । भरतपुरका गोलरक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल विट गर्दै करिब ३० यार्डपरबाट सुजनले गोल गरेका थिए ।

१–० ले पछि परेको भरतपुरविरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको दशौं मिनटमा अग्रता दोब्बर पार्यो । मनिष पौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् । ३३ औं मिनेटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काएका थिए ।

मकवानपुरका सञ्जिव अर्यालले फाउल गरेपछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ मार्फत गोलमा परिणत गरेका थिए । खेलको ५५ औं मिनेटमा सजिन थापा मगरले भरतपुरका लागि बराबरी गोल गरेका थिए । सुनिल श्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट सुन्दर गोल गरेका थिए ।

करिब ५ हजार दर्शकको उपस्थिति रहेको सिमरा रङगशालामा पहिलो क्वाटरफाइनल रोमाञ्चक रह्यो । निर्धारित ९० मिनेटको खेल बराबरी खेलेका दुवै टिमले अतिरिक्त समयको ३० मिनेट जितका लागि कठिन संघर्ष गरेका थिए ।

अतिरिक्त समयको पाँचौं मिनेटमा मकवानपुरले भरतपुरका सुधांश चौधरीको आत्मघाती गोल बाट ३–० को अग्रता बनाएको थियो । गोल लाईनबाट बल क्लिएर गर्ने क्रममा सुधांशको प्रयासले जालीचुमेपछि मकवानपुरका समर्थक उत्साहित बनेका थिए ।

मकवानपुरको अग्रतालाई भरतपुरका सुनिल श्रेष्ठले अतिरिक्त समयको १५ औं मिनेटमा बराबरीमा बनाएका थिए। सेन्टरलाईनबाट एकल प्रयासमा बल अघि बढाएका सुनिलले करिब ३० यार्ड परबाट बललाई गोल पोष्टको दिशा दिएका थिए ।

प्रतिष्पर्धात्मक खेलमा मकवानपुर ११ र भरतपुर फुटबल क्लबले थुप्रै आकर्षक अवसरहरु गुमाएका थिए । सुरुवाती दवावलाई झेल्दै उत्कृष्ट प्रदर्शन गरेको भरतपुर प्रतियोगिताबाट बाहिरिए पनि घरेलु दर्शकको मन जित्न सफल भयो। प्रिक्वाटरमा आयोजकलाई पराजित गरेको भरतपुरको समर्थनमा अधिकांश स्थानीय दर्शक प्यारापिटबाट हुटिङ गरिरहेका थिए।