
सिन्धुली । सिन्धुलीकाे वीपी राजमार्गलाई सफा-सुन्दर र हराभरा राख्न सफाई अभियान संचालन गरिएको छ।
पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको रुपमा रहेको वीपी राजमार्गलाई फोहोररहित बनाउने उद्देश्यले बृहत सरसफाई अभियान सुरु गरिएको हो। सिन्धुलीको कमलामाई नगरपालिका, डिभिजन र वन कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालयको संयोजनमा भइरहेकोे सरसफाई अभियानमा राजमार्ग आवतजावत गर्ने भाडा तथा निजी सवारी साधनलाई रोकेर प्लास्टिकजन्य सामग्री र अन्य फोहोर जथाभावी नफ्याँक्न चेतना प्रवाह गरिएको छ ।
सोही अभियान अन्तर्गत पहिलो चरणमा कमलामाई नगरपालिका-६ को शिवनगरदेखि शिखरटोल, शान्तिनगर, रातमाटा, राम्माडी, ढुंग्रेवास र टारी हुँदै हिरापानीसम्मको सडकमा रहेको फोहोर हटाइएको छ ।
निकै सुन्दर वीपी राजमार्गमा ३ वटा निकाय मिलेर सरसफाई सुरु गरिएको छ । राजमार्गलाई सफा राख्ने कार्य अन्तर्गत ट्राफिक प्रहरी मार्फत सवारी साधनमा फोहोर राख्ने टोकरी अनिवार्य गरिएकाे छ ।
चियाबारी, पिपल भञ्ज्याङ, ढुग्रे भञ्ज्याङ, सेल्फिडाँडा, सोला भन्ज्याङ खनियाखर्कसम्म कमलामाई नगरपालिकाले र अन्य नगर तथा गाउँपालिकाको राजमार्ग क्षेत्रमा समन्वय गरी सरसफाई अभियानलाई प्रभावकारी बनाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्