१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गिद्ध संरक्षणमा बेवास्ता


104
Shares

डडेल्धुरा । डडेल्धुरामा करिब १५ वर्ष अघि ठूलो संख्यामा देखा पर्ने गिद्ध पछिल्लो समय लोप हुँदै गएका छन् ।

लोप हुँदै गएका प्रकृतिका कुचिकारको रुपमा रहेका चरा प्रजाती गिद्ध हिजो आज गाउँघर तिर निकै कम संख्यामा देखिन थालेका हुन् । जिल्लाका ठूला पहाड, भीरपाखामा दैनिक जसो सहजै देखिने गिद्ध पछिल्लो समय दिन प्रतिदिन वातावरण असन्तुलित हुनु र गिद्धलाई आवश्यक पर्ने उपयुक्त बासस्थान तथा आहाराको कमी हुँदा गिद्धको संख्यामा कमी हुँदै गएको स्थानीयवासीको भनाइ छ ।

गाउँघर नजिकैका सिनो फाल्ने ठाउँतिर ठूलो संख्यामा भेटिने गिद्ध मानवीय सचेतनाका कारण जथाभावी फालिने सिनो गाड्ने तथा व्यवस्थित रुपमा राख्न थालिएपछि जिल्लामा गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले यसको संख्या कम हुँदै गएको स्थानीय बताउँछन्।
प्रकृतिको कुचीकार मानिने पंक्षी गिद्ध वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने पंक्षीको रुपमा समेत लिने गरिन्छ ।

तर यसको संरक्षणमा भने कतैबाट खासै पहल भएको देखिदैन । ‘डाइक्लोफेनिक’ औषधि सेवन गरेका पशुहरु मरेपछि तिनको सिनो खाँदा गिद्धमा त्यसको प्रत्यक्ष असर पर्ने गर्दछ । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध हिजो आज गाउँघर तिर थोरै भए पनि देखिन थालेकाले यसकाे संरक्षणका सम्बन्धित निकायले ध्यान दिनु पर्ने स्थानीय पदमबहादुर निदालले बताउनुभयाे ।

गिद्धका लागि आहारा नपुग्दा र बासस्थान नहुँदा लोप हुँदै गएको र आहारा र बासस्थान भए गिद्धको संख्या केही बढ्ने उहाँको भनाइ छ । बढ्दो जनसंख्यासँगै वन विनाश हुन थालेपछि ठूला रुखमा कमी हुनु, पर्यावरणमा असर आउनु लगायतका कारणबाट पनि गिद्धको संख्यामा कमी आएको हुन सक्ने स्थानीयवासीहरूले बताएका छन् । गिद्धको संरक्षणमा सरकारी प्रयासले मात्र सम्भव नहुने हुँदा यसको संरक्षणका लागि स्थानीयवासीलाई जनचेतना जगाई सचेत गराउनुपर्ने आवश्यकता रहेको जानकारहरु बताउछन् ।

लोप हुने अवस्थामा पुगेको गिद्धहरू पछिल्लो समय जिल्लाको अमरगढीसँगै जिल्लाका अन्य क्षेत्रमा समेत देखिन थालेका छन् । स्थानीय सरकार र सरोकारवाला निकायले गिद्धकाे संरक्षणका लागि ध्यान दिनुपर्ने जरुरी देखिएकोे छ ।