
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउनका लागि सबै मन्त्रीहरुलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिनु भयो । नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरुसँग मुलुकको आर्थिक संकटबारे गम्भिर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढन राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने पनि बताउनुभयो ।
नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढनुपर्ने भएकाले सोही अनुसार विज्ञहरुको परामर्श लिएर अघि बढन पनि सरकारलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्