
सिन्धुली । सिन्धुलीका सरकारी कार्यालयहरुमा स्तनपान तथा शिशु स्याहार कक्ष बनाउन माग गरिएको छ।
जिल्लामा रहेका सरकारी, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहुँदा सेवाग्राही र कार्यालयमा काम गर्ने महिला कर्मचारीहरुलाई समस्या परेको हाे । याे समस्यालाई अखिल नेपाल महिला संघलगायतका संघ संस्थाहरूले स्तनपान र शिशु स्याहार केन्द्रको माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
जिल्लाका एकाध कार्यालयमा भएका स्तनपान कक्षहरु पनि हटाइएको वा प्रभावकारी नबनाइएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। जिल्लामा सेवाग्राहीहरुको अत्यन्तै चाप हुने सरकारी कार्यालयहरु, बैंकहरु, स्थानीय तहहरु, वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत महिला कर्मचारी र महिला सेवाग्राहीहरुलाई सहज हुने गरी स्तनपान कक्ष र बालबालिकाहरुका लागि शिशु स्याहार कक्ष बनाउन सहजीकरणका लागि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।
महिला संघका जिल्ला अध्यक्ष पार्वती भट्टराईले स्तनपान कक्ष, शिशु स्याहार कक्ष निर्माणका लागि सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरी सहयोग गरिदिन समेत आग्रह गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्