
दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिकाले नागरिकहरूलाई स्वास्थ्य सेवा पुर्याउनका लागि १९ वटै वडाहरूमा स्वास्थ्य केन्द्र स्थापना गरेकाे छ ।
संघीय सरकारबाट हस्तान्तरण भएर आएका ८ वटा स्वास्थ्य चौकी र उपमहानगरले ११ वटा नगर स्वास्थ्य केन्द्र स्थापना गरेको हाे । तर वडा नम्बर ९ र ५ मा भने स्वास्थ्य केन्द्र अहिले पनि भाडाको घरमा रहेका छन् । अरु स्वास्थ्य केन्द्र भने आफ्नै भवन रहेका छन्।
तुलसीपुर उपमहानगरपालिका-९ मा नगर स्वास्थ्य केन्द्र दोघरे भाडामा रहेकाे छ । केन्द्रको लागि संघीय सरकारले ३ कोठाको भवन बनाइ दिएको छ । तर अहिले त्यो भवन सानो भएको भन्दै स्वास्थ्य केन्द्र मासिक १५ हजार रूपैयाँ तिरेर भाडाको घरबाट सेवा दिइरहेको नगर स्वास्थ्य केन्द्र दोघरेका अहेव प्रवीर केसीले बताउनुभयाे।
भवन वडा नम्बर ९ को कार्यालयसँग सटेको ठाउँमा निर्माण भएको छ । भवनमा कोठा कम हुँदा स्वास्थ्य केन्द्र आउन नमानेको अवस्थामा नगरप्रमुखलाई थप कोठा निर्माणका लागि पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको तुलसीपुर-९ का वडाध्यक्ष घनश्याम ढकालले बताउनुभएकाे छ ।
उपमहानगरले भने मन्त्रालयको डिजाइन अनुसार नै भवन निर्माण भएको र निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको जनाएको छ । २०७७ सालमा नगर स्वास्थ्य केन्द्र दोघरेको भवन निर्माणको लागि ३८ लाख रूपैयाँ आएको थियो । जसमा भ्याट बाहेक २१ लाख रूपैयाँमा निर्माण भएको तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन कुमार योगीकाे भनाइ छ ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-५ अन्तर्गत तुलसीपुर बसपार्कमा नजिकै रहेको तुलसीपुर नगर स्वास्थ्य केन्द्रले पनि भाडाको घरबाट सेवा दिँदै आइरहेको छ । ४ वटा कोठाहरू मासिक साढे १० हजार तिरेर सेवा दिँदै आएको स्वास्थ्य केन्द्रले जनाएको छ । उपमहानगरले जग्गाको व्यवस्थापन गरिदिए भवन निर्माणको लागि मन्त्रालयबाट बजेट आउने तुलसीपुर नगर स्वास्थ्य केन्द्रका प्रमुख खुम न्यौपानेकाे भनाइ छ।
विगतमा स्वास्थ्य मन्त्रलायले जारी गरेको मापदण्ड अनुसार ७ हजार भन्दा कम जनसंख्या भएको वडामा ३८ लाखसम्मको भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साेही अनुसार नगर स्वास्थ्य केन्द्र दोघरेमा सोही अनुसार भवन निर्माण भएको तुलसीपुर उपमहानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले जनाएकाे छ ।
तराईका जिल्लाहरूमा स्वास्थ्य मन्त्रालयले जनसंख्याका आधारमा बनाएको मापदण्ड उपयुक्त नभएको पनि शाखाको भनाइ छ । शाखाले पनि अहिले भाडाको घरबाट सेवा दिइरहेको तुलसीपुरका जन स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओम प्रसाद न्यौपाने बताउनुभयाे।
१९ वटै वडाहरूमा स्वास्थ्य केन्द्रहरूले स्वास्थ्य सेवा दिइरहेका छन्। जसका कारण नागरिकहरू नजिकैबाट सेवा पाउँदा निकै खुशी भएका छन् । तर स्वास्थ्य केन्द्रमा अरु थप सेवाहरू समेत हुनुपर्ने नागरिक विष्णु प्रसाद बस्यालले बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्