
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका-४ बेतालीमा एक जना वृद्धको अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
स्थानीय लिसेखानी टोलमा बस्दै आएका करिब ८२ वर्षीय शमशेर बहादुर थापामगरको सोमबार साँझ ७ बजेको समयमा खुकुरी प्रहार गरी अज्ञात व्यक्तिले हत्या गरेका हुन् । २ जना नातिनीसहित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरेर भागेका थिए ।
खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो ।
केही दिन अघि बिरामी भएर श्रीमती उपचारको लागि काठमाडौं गएकाले थापामगर भने दुई नातिनीका साथमा घरमा बस्दै आएका थिए । नातिनीहरु घरबाहिर निस्किएको मौकाछोपी थापामगरमाथि खुकुरी प्रहार भएको थियो । कसले र किन खुकुरी प्रहार गरेको भन्ने विषयमा केही नखुलेको भएपनि प्रहरीले मृतकका आफ्नै छोरालाई भने पक्राउ गरेर अनुसन्धना प्रकृया अघि बढाएको रामेछापका प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताउनुभयो ।
घटना रहस्यमय भएकोले हामीले प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइसकेकाले छिट्टै अपराधि पत्ता लाग्ने प्रमुख पराजुलीले बताउनुभयो । अनुसन्धानका लागि रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीको नेतृत्वमा टोली खटाइएकाे छ ।
साथै करिब २ महिना अघि बेताली-४ कै भिमसेनथानमा ७६ वर्षीया पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शंकास्पद शव फेला परेको थियो । उक्त घटनाको संलग्न व्यक्तिलाई पनि प्रहरीले अहिलेसम्म पहिचान गर्न नसकेपछि बेताली र सिङ्गो गोकुलगंगा गाउँपालिका नै आतंकित बनेको छ ।
दुवै घटना एकै गाउँका र नजिकै नजिकैको मितिमा घटेकोले आफूहरुका लागि पनि अपराधि पत्ता लगाउने कुरामा चुनौती थपिएको पनि प्रमुख पराजुलीले बताउनुभयो । घटनाकाे थप अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुर समेत झिकाएकाे उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्