२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चर्च ब्वाईज जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा


117
Shares

बारा । चर्च ब्वाईज युनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बाराकाे सिमरामा मंगलबार साँझ भएको खेलमा चर्च ब्वाईजले एपीएफलाई २–१ ले पराजित गर्दै चर्च ब्वाईज युनाईटेड सेमिफाइनलमा प्रवेश गरेको हो । सिमरा रङ्गशालामा एपीएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामा नै सेमिफाइनल यात्रा तय गरेको हो ।

एपीएफका सन्तोष श्रेष्ठले खेलको २३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । श्याम नेपालीले डिबक्सभित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिँदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाईजका अफ्रिकी गोल रक्षक प्रिसोले बचाउको प्रयाससम्म गर्न पाएनन् ।

खेलको ३१ औं मिनेटमा चर्च ब्वाईजका सन्तोष न्यौपानेले गिोल गर्दै खेलमा फर्काएका थिए । रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपीएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।

एपीएफसँगको बराबरीपछि आक्रामक बनेको चर्च ब्वाईज पहिलो हाफमै अग्रता बनाउन सफल भयो । खेलको ४३ औं मिनेटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो । बाँकी समय दुवै टोलीबाट गोल हुन नसकेपछि चर्च ब्वाईज सेमिफाइनलमा पुगेकाे हाे ।

रोमाञ्चक जितसँगै चर्च ब्वाईजले अब न्युरोड टिम (एनआरटी) संगको सेमिफाइनल भेट पक्का गरेको छ ।फाइनल प्रवेशका लागि चर्च ब्वाईजले बिहीबार एनआरटीको सामना गर्ने भएकाे छ । खेलको एभरेष्ट बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी खेलाडी ओउसो वेम्पा घोषित भएका हुन् ।

एभरेष्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुर सिमराका वडाध्यक्ष ईश्वर खत्रीले ओउसो वेम्पालाई म्यान अफ दि म्याचको ट्रफी र १० हजार नगद प्रदान गरेका थिए । प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्ने भएकाे छ ।