
बारा । हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ ।
बुधबार साँझ सिमरामा भएकाे खेलमा मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेकाे हाे । बुधबार सिमरा रंगशालामा सम्पन्न भएकाे पहिलो सेमिफाइनल खेलमा मकवानपुर विरुद्ध आक्रामक खेल खेल्दै एक दशकपछि हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेकाे हाे ।
२०६७ सालमा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको उपाधिजितेको २०६९ सालको चौंथो सिमरा गोल्डकपमा उप–विजेता बनेको थियो । सिमरा रंगशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशकपछि तेस्रो पटक फाइनल यात्रा तय गरेको हो ।
हिमालयन शेर्पाले खेलको २९ औं मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो । अब्योमीको पासमा सुशीलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शेर्पाको डिएरियाबाट बल खोस्दै काउण्टर मुभ बनाएका अब्योमी र सुशीलको आकर्षक तालमेलमा पहिलो हाफमा शेर्पाको अग्रता सम्भव भएकाे हाे ।
हिमालयन शेर्पाको जितमा म्यान अफदि म्याच निशान लिम्बु नायक बनेका छन् । खेलको ७४ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदानमा प्रवेश गरेका निशानले आकर्षक दुई गोल गरेका थिए ।
खेलको अन्तिम समयमा निशान लिम्बुको व्यक्तिगत दोस्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जित सुनिश्चित गर्दै फाइनलयात्रा तय गरेकाे हाे ।
इन्ज्युरी समयको चौंथो मिनेटमा हिमालयन शेर्पाका मिलन राइको पासमा निशानले अर्को गोल थपेका थिए । डिबक्सभित्र डिफेण्डरको गल्तिका कारण मकवानपुरले अन्तिम मिनेटमा तेस्रो गोल बेहोर्नु परेकाे थियाे । क्वाटरफाइनलमा भरतपुर फुटबल क्लब विरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर ११ले हिमालयन शेर्पाको सामु निरिह देखियो ।
शेर्पा विरुद्ध मकवानपुरले सम्झन लायक अवसर बनाउन सकेन । प्रतियोगिता अन्तर्गत बिहीबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज युनाईटेडबीच दोस्रो सेमिफाइनल खेल हुने भएकाे छ । शनिबार हुने फाइनल खेलको प्रमुख अतिथिका रुपमा उप–राष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित हुने आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्