२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


विश्व बैङ्कको ४६ करोड सहयोगमा तिलोत्तमामा निर्माण हुने सडकको शिलान्यास


273
Shares

बुटवल । विश्व बैङ्कको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन सडकको स्तर उन्नति हुने भएको छ । तिलोत्तमा ९ मंगलापुर देखी कान्छी बजार जोड्ने सडकको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको हो ।

४.८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख उपप्रमुखले शिलान्यास गरेका हुन् ।

शिलान्यास पश्चात् तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभोंले नेपालका १० स्थानीय तहलाई कार्यक्रम दिएको मध्य तिलोत्तमा नगरपालिले काम सुरु गरेको बताउँदै खुसी व्यक्त गरे ।

कृषि उत्पादन र बजारीकरणको लागि सहजता होस भन्ने उद्देश्यले ऋण सहयोग गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले निर्माणाधीन सडक समयमा नै सम्पन्न हुने बताउँदै यो सडकले त्यस क्षेत्रका व्यक्तिहरूलाई आर्थिक उपार्जनमा जोड्ने बताए । उनले कृषिलाई आर्थिक विकास सँग जोडेर बाटो बनाउन विश्व बैङ्कले सहयोग गरेको बताउँदै यो सडक निर्माणमा सहयोग गर्न स्थानीयहरूलाई आग्रह गरे ।

उनले बजारका सहरी सडकहरु जस्तै सडक बन्ने बताउँदै कृषि उत्पादन, बजारीकरण, आवतजावत, अन्तर्राष्ट्रिय विमानस्थल तथा सिमानाका पुग्न सहजता र आन्तरीक पर्यटक भित्राउनको लागि निकै महत्त्वपूर्ण साबित हुने बताए ।

उनले अहिले सडकको लम्बाई ४.८६ किलोमिटर रहे पनि अझै १.६ किलोमिटर थप्ने पहल गरेको बताउँदै विश्व बैकसँग थप प्रयास गर्ने बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देबी चौधरीले निर्माणाधीन सडकले तिलोत्तमा ७–९ का स्थानीयलाई निकै फाइदा पुग्ने बताउँदै समयमा नै सम्पन्न गर्नमा सहयोग गर्न आग्रह गरिन् ।

तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सडकको २०७९ भदौ २३ गते देखी सम्झौता सुरु भएको बताउँदै अहिले सम्म १४ प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनका साइट क्लिरियन्स तटबन्ध भर्ने, ढुङ्गा चिन्ने लगायतका कामहरू भइरहेका छन् ।

नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्ट अन्तरगत निर्माणाधीन सडक २०८१ भदौ २२ गते सम्पन्न गर्ने गरी ४६ करोड ५९ लाख ९८ हजार ७१ रुपैयाँमा शर्मा सगुन जेभी बुटवललले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर प्रदीप बलले जानकारी दिए। उनका अनुसार सडकको चौडाइ १३ मिटर सम्म हुनेछ । नाली माथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुने छन् ।

नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्टका निर्देशक रवीन्द्र बोहराले सडक निर्माणमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्दै आएको बताउँदै यसको नियमित निरीक्षण र अनुगमन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा ७ का अध्यक्ष देवी प्रसाद पङ्गेनी र ९ का अध्यक्ष ध्रुव न्यौपानेले सडक निर्माण हुनु निकै खुसीको कुरा रहेको बताउँदै यो सडक निर्माणलाई समयमा नै सम्पन्न गर्नको लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणनिधि भण्डारी, सबिता थापा लगायतले बोलेका थिए । सडक शिलान्यास पश्चात् विश्व बैंकका प्रतिनिधि , प्रोजेक्टका सदस्यहरू तथा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले ठेकेदार कम्पनीले निर्माणमा प्रयोग गर्ने सामाग्री तथा गर्ने परीक्षण सम्बन्धी ल्याब र निर्माण हुने सबै सडक क्षेत्रको अनुगमन समेत गरेका थिए ।