२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


इलाम कारागारबाट थुनुवा फरार


611
Shares

इलाम । देशकै नमूना सुधारगृह मानिएको इलाम कारागारबाट एक जना थुनुवा फरार भएका छन् ।

इलाम कारागारमा थुनुवाका रुपमा रहेका झापाको मेचीनगरपालिका-३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । बिहीबार साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो ।

गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो। फरार थुनुवाको खोजतलास भइरहेको समाचार श्रोतले जानकारी दिएको छ । डाँका मुद्दाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए ।

इलाम कारागारमा यसअघि कारागारभित्रै मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सोही भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बन्दै गएको छ ।