
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-१० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्याका आरोपित ४ जनालाई जेल चलान गरिएको छ ।
जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले पक्राउ परेका १६ जना मध्ये ४ जनालाई पुर्पक्षका लागि जेल चलान, ६ जनालाई धरौटीमा रिहा र ६ जनालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । गत फागुन १३ गते वनभोज मनाउन दोगडाकेदार गाउँपालिका-४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन सोही राति नदीमा मृत अवस्थामा फेला परेका थिए ।
राष्ट्रिय अनुसन्धान विभाग बझाङको सहायक सूचककाे रुपमा कार्यरत मृतक बुडाल बिदामा घरमा आएका बेला वनभोज गएका थिए । बुडाल नदीमा मृत भेटिएपछि पत्नी अनिषा बुडालले कर्तव्य ज्यान मुद्दामासँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । त्यसको केही दिनमै शव भेट्टिएको स्थान नजिकै विस्फोटक पदार्थ समेत फेला परेको थियो ।
हत्या आरोपमा पक्राउ गरिएका मध्ये नारायण सिंह ऐरी (मृतकका भिनाजु), अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र गजेन्द्र सिंह रावललाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । त्यस्तै दिपेन्द्र सिंह ऐरी, पुष्पराज भट्ट र टेकसिंह खत्रीलाई कर्तव्य ज्यान मुद्दामा जनही १ लाख ५० हजार र विस्फोटक पदार्थ कसुर मुद्दामा जनही ५० हजार गरेर २ लाख र गणेश सिंह कार्की विस्फोटक पदार्थ कसुर मुद्दामा १ लाख ५० हजार रूपैयाँ धरौटीमा रिहा भएका छन् ।
नविन सिंह ठगुन्ना र श्याम सिंह ऐरीलाई कर्तव्य ज्यान मुद्दामा जनही ५० हजार र विस्फोटक पदार्थ कसुर मुद्दामा ५० हजार रूपैयाँ गरी जनही १ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । पक्राउ गरेका मध्ये मोहनसिंह ठगुन्ना, केशव सिंह रावल, भुवनराम लुहार, कमलसिंह कार्की, टेकराम तिरुवा र मोहनसिंह महता साधारण तारिखमा रिहा भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्