
बैतडी । बैतडीको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरदसिंह नेगीमाथि शुक्रबार कुटपिट भएको छ ।
सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले वडाध्यक्षमाथि कुटपिट गरेकाे प्रहरीले बताएकाे हाे । शुक्रबार राति साढे ९ बजेतिर वडा नम्बर १ कै जेरो पोइन्टमा रहेको बजारको एक पसलमा दुवै जनाले अध्यक्ष नेगीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
वडाकै आन्तरिक विषयमा विवाद हुँदा अध्यक्षमाथि कुटपिट भएको उहाँले बताउनुभयाे । कुटपिटबाट वडा अध्यक्ष नेगीका ४ वटा दाँत भाचिएका छन् । कुटपिटबाट घाइते हुनुभएका अध्यक्ष नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
कुटपिट गर्ने दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्