
बझाङ । सुर्मा गाउँपालिका वडा नम्बर १ की बाटुली देवि बोहरालाई झण्डै ७० वर्ष पुग्न थाल्यो । उनले आफ्नो जीवनभरी जंगलबाट सुकेका निकालो, सल्लाको झरो, बजारबाट ल्याएको मट्टीतेलको भरमा राति उज्यालोकाे लागि बाल्दै आउनुभएकाे थियाे ।
आफ्ना छोरा छोरीलाई पढाउन उज्यालो पार्नका लागि भए पनि उनले जंगलमा जान कहिले छोडिनन् । निगालो र झरोको भर नै पर्नु पर्यो । गाउँमा उनी जस्तै अन्य गाउँलेहरुले समेत यसरी नै जंगलमा गएर निगालो, झरो ल्याएर राती उज्यालो गर्दै आउनुभयो । केही ब्यक्तिले टुकी (मट्टीतेलबाट बाल्ने), केही ब्यक्तिहरुले मात्रै राति उज्यालो पार्नका लागि सोलार बत्ती जडान गरेका थिए ।
२/४ जना बाहेक सबै जनाको उज्यालो पार्ने माद्यम भनेको त्यही एउटा गाउँ नजिकैको जंगल थियो । जंगलमा ठुल–ठुला सल्लाको रुख हुने र त्योबाट बन्चरो चलाएर झरो निकाल्नु पथ्र्यो । अलि टाढा गएको खण्डमा निगालो पाउन्थ्यो । त्यही निगालो र झरो बालेर उज्यालो बाल्नुपर्ने बाध्यता थियो ।
ती दिन उनका लागि सहज थिएनन् । जंगलमा झरो निकाल्न वा निगालो ल्याउन जाँदा कहीले बाघ, भालु अर्थात जंगली जनावरको डर पनि उत्तिकै हुन्थ्यो । कति दिन त उहाँ जंगली जनावरको शिकार हुनबाट बाँचेर घर फर्किएको उनी बताउँछिन् ।
उनि भन्छिन्,‘एक्लै जंगलमा जान सकिँदैन थियो । कोही साथमा लिएर मात्रै जानु पर्ने अवस्था थियो । झरो, टुकी र निगालोको भरपर्दा कहिले आगलागी हुने घटना पनी मेरो सम्झनामा धेरै भएका छन् । मेरो घरमा पनी ठुलो क्षति हुनबाट जोगिएको थियो । तर अहिले घरमा नै विजुली भएपछि यस्ता समस्या बाट छुटकारा मिलेको छ । आफ्नो जीवनमा यसरी बत्ती बाल्न पाइएला भन्ने सपनामा समेत सोचेकी थिइन् । सपना होकी विपना हो आफैँ अचम्ममा परेकी छु।’
स्थानीय हरीलालल बोहराले भने, ‘अहिले त वडा नम्बर १ भरी नै विजुलीका पोल घरघरमा गाडिएका छन् । घरमा वाइरिङ गर्ने काम भै रहेको छ । २/३ दिन भित्र हाम्रो गाउँमा विजुली बल्नेछ’।
दौलिचौरमा मात्रै विजुली भए पनि अब पारीकाट्टे, सुर्मा गाउँपालिकाको सबै भन्दा दुर्गम मानीने नाउला, विछारा, पुदाली, लगायतका गाउँमा समेत विजुली बाल्ने अन्तिम चरणमा पुगेको विद्युत विस्तार समितिका अध्यक्ष वकील बोहराले बताए ।
वडा नम्बर १ को र सुर्मा गाउँपालिकाको गरी झण्डै ५० लाखको लागतमा र नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको सहयोगमा विद्युत विस्तारको काम भएको सुर्मा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले बताए ।
उनले भने, ‘पालिकाले र वडाले गर्ने सबै कार्य करिब सम्पन्न भै सकेको छ । अब स्थानीय बासिन्दाहरुले मिटर जडान र वाइरिङको काम सकेपछि मात्रै विद्युत प्रसारण हुनेछ।’
अबको २/४ दिन भित्र सबैको घरघरका विजुले बल्ने बोहराले बताए । वडामा विनियोजन गरेको ४२ लाख भन्दा बढी रकम आफुले विद्युतमा लगानी गरेको बताउँदै उनले गाउँ गाउँमा उति आवष्यक र जन जीविकाको सवालमा स्थानीय सरकारले काम गरी रहेको बताए ।
सुर्मा गाउँपालिकाका अध्यक्ष खडक बहादुर बोहराले यस वर्ष भित्र वडा नम्बर १ मा मात्रै नभएर सुर्मा गाउँपालिकाको ५ वटै वडाका झण्डै ८० प्रतिशत भन्दा बढी गाउँ र ठाउँहरुमा विजुली बाल्ने गरी पालिकाले काम गरी रहेको बताए ।
अहिले सम्म बझाङ जिल्ला भरी ४० प्रतिशत विद्युतीकरण भइसकेको र ६० प्रतिशत विद्युतिकरण हुन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका निमित्त कार्यलय प्रमुख तथा सुपरभाईजर रुपक बहादुर थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्