६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पार्टीको झण्डा गाडेर ११ बिघा जग्गामा माछा पालन


1.391k
Shares

काठमाडौं । मिटरब्याजको आतंकबाट न्याय माग्न ११ दिन पैदल हिँडेर गृहिणीको ठूलो समूह राजधानी छिरेका बेला राजनीतिक आवरणमा किर्ते कागजात बनाई ६० करोड रुपैयाँ बराबरको जग्गा मिच्ने बाराका स्थानीय नेता पक्राउ परेका छन् । काठमाडौंका विजयमणि दीक्षितको स्वामित्वमा रहेको १० बिघा जग्गा जनता समाजावादी पार्टीका जिल्ला अध्यक्ष अजय पटेलले झण्डा गाडेर हडपेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौको टोलीले ४५ वर्षीय पटेललाई फिल्मी शैलीमा आफ्नो नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ । मालपोत कार्यालयको मिलेमतोमा बारास्थित ६० करोड बढी रकमको जग्गाको किर्ते कागज खडा गरी पटेलले पार्टीको झण्डा गाडेका थिए ।

पटेलले परवानीपुरस्थित कित्ता नम्बर ४१ को ६ बिघा, वडा नम्बर ८ कित्ता नम्बर १३४७ को ३ बिघा र कित्ता नम्बर १४८०, १०७८ र १४७९ गरी १८ कठ्ठा र वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरी १० बिघा १५ कठ्ठा क्षेत्रफल रहेको जग्गा हुँदै नभएको मोहि कायम गराउन खोजेका थिए । पटेलले भूमि सुधार कार्यालयमा आफूलाई मोही कायम गर्न भनी पेश गरेको कागजात किर्ते भएको नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले पुष्टि गरेको छ । पक्राउ परेका पटेलमाथि प्रहरीले प्रक्रिया अघि बढाएको जिल्लो प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटीले बताउनुभयो ।

पटेलले मोही कायम गराउनु भूमिसुधारमा बुझाइएको कागजात शंकासपद देखिएकोले कारवाही अघि नबढाइएको भुमिसुधार कार्यालयले बताएको छ ।

काठमाडौं विशालनगर निवासी विजयमणि दीक्षितको नाम रहेको १० बिगाह १५ कठ्ठा क्षेत्रफलको जग्गामा पटेलले पार्टीको झण्डा गाडी वर्षौंदेखि माछापालन व्यवसाय चलाउँदै आएका थिए । जग्गाधनी दीक्षितका छोरा अरुणमणि दीक्षितले आफ्नो स्वामित्वको जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन जाँदा पटेलसहितको समूहले किन्ने र बेच्ने भौतिक आक्रमण गरेको थियो । उनीहरुले पटक पटक ज्यान मार्ने धम्की दिएको जग्गाधनी दीक्षित बताउनुहुन्छ ।

जग्गा किर्ते गरेको आरोपमा पक्राउ परेका पटेल विरामी भएको भन्दै २० दिनदेखि वीरगन्जस्थित अस्पतलामा उपचार गराउँदै आएका छन् । प्रहरीको जिल्लादेखि केन्द्रसम्मले एकसाथ अनुसन्धान अघि बढाएको जनाएको छ ।