२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनगढीका स्वास्थ्यकर्मी ६ महिनादेखि पारिश्रमिक विहीन


39
Shares

कैलाली । धनगढी उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू ६ महिनादेखि पारिश्रमिक विहीन भएका छन् ।

स्वास्थ्य संस्थामा ५४ जना स्वास्थ्यकर्मीहरु गत कार्तिक महिनादेखि पारिश्रमिक विहीन भएका हुन् । पाउन सकेका छैनन् । सुन्दा अचम्म लाग्न सक्छ । जुन स्वास्थ्यकर्मीले दिनरात नभनी बिरामीको सेवा गरिरहेका हुन्छन् । तिनै स्वास्थ्यकर्मी ६ महिनादेखि पारिश्रमिक विहीन भएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत ५४ जना स्वास्थ्यकर्मीहरुले गत कार्तिक महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ घर भएकी नन्दादेवी भण्डारी करिब ५५ वर्ष उमेर पुगिसक्नुभएकाे छ । हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को स्वास्थ्य चौकीमा कार्यरत भण्डारीले ३० वर्ष स्वास्थ्य सेवामा काम गरिसक्नुभएकाे छ ।

कैलालीको चुरे र मोहन्याल लगायतका दुर्गम पालिकाहरुमा लामो समय सम्म सेवामा कार्यरत भण्डारीले सेवारत अवस्थामा न घर परिवार भन्नुभयाे, न छोराछोरीकै राम्रोसित पालनपोषण गर्न नै उहाँले पाउनुभयाे । सरकारले खटाएको ठाउँमा अनवरत रूपमा सेवामा रहनुभएकी भण्डारी जनयुद्धका बेला समेत दुर्गम क्षेत्रमै सेवा गर्नुभएकाे थियाे ।

पारिश्रमिकबाट घरमा खाद्यान्न र तरकारी सम्म आउँथ्यो । तर, कार्तिकदेखि पारिश्रमिक रोकिएपछि उहाँलाई घर चलाउ नै हम्मेहम्मे परेको छ । भण्डारीको मात्रै यो समस्या नभएर सोही उपमहानगरपालिका अन्तर्गतका ५४ जना स्वास्थ्यकर्मीलाई पनि यही समस्या परेको छ । दिनरात नभनी स्वास्थ्य क्षेत्रमा सेवा दिइरहेका कर्मचारीहरुलाई सरकारले गत कार्तिकदेखि नै पारिश्रमिक दिएको छैन ।

बिना पारिश्रमिक ६ महिना काम गरेका स्वास्थ्यकर्मीहरु अन्ततः आन्दोलनमा होम्मिएका छन् । धनगढी उपमहानगरपालिकाका प्रमुखसँग पटकपटक समस्या समाधानका लागि आग्रह गरेपनि सुनुवाई नभएपछि उनीहले सेवा ठप्प पार्दै उपमहानगर परिसरमा धर्ना बसेका छन् । पारिश्रमिक उपलब्ध नहुँदासम्म सेवा ठप्प पार्दै आन्दोलन जारी राख्ने उनीहरुकोे चेतावनी छ ।

धनगढी उपमहानगरपालिका अनुसार दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी भएपछि पारिश्रमिक वितरणमा समस्या देखिएको हो । १६ जना स्वास्थ्यकर्मीको मात्रै दरबन्दी रहेको धनगढीमा हाल ५४ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । कर्मचारी समायोजनका बेला धनगढी उपमहानगरपालिकामा सरकारले समायोजन गर्ने, तर सोही अनुसारको पारिश्रमिक नदिएका कारण कर्मचारीहरु पारिश्रमिकबाट बञ्चित भएको उपमहानगरले जनाएको छ ।

धेरै पटक स्वास्थ्य मन्त्री तथा सचिवहरुसँग रकम माग गर्दा पठाउछु भन्ने आश्वासन मात्रै पाएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बताउनु्हुन्छ । कर्मचारीको पारिश्रमिकका विषयमा संघ सरकारनै गम्भिर बन्नुपर्ने बताउँदै उहाँले आफूले गर्ने पहल निरन्तर राख्ने बताउनुहुन्छ ।

सरकारले स्वास्थ्य संस्थाहरुको संख्या थप्दै जाने, तर त्यो अनुसार जनशक्ति थप्नमा चासो दिएको देखिदैन । त्यसमाथि कर्मचारीहरुको समेत यो अवस्था हुँदा देशको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो होला ? त्यसैले पारिश्रमिक पाउनबाट बञ्चित सबै स्वास्थ्यकर्मीहरुलाई समयमै पारिश्रमिक उपलब्ध गराउन तिर सरकारको ध्यान जानु जरुरी देखिन्छ ।