
काठमाडौं । छिमेकी मुलुकहरुमा कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी वान प्वईन्ट सिक्स्टीन संक्रमण बढिरहँदा नेपालमा पनि संक्रमणको जोखिम देखिएको छ । जनस्वास्थ्यका मापदण्ड अपनाउनुका साथै पूर्णखोप लगाउन चिकित्सकहरु सुझाव दिन्छन् ।
नेपालमा हप्तौंदेखि स्थिर रहेको कोरोना संक्रमितको संख्या केही दिनदेखि बढ्न थालेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आगामी दिनमा कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने आंकलन गरिएको छ । भारतमा ओमिक्रोन भेरिएन्टको उपप्रजाति मिलेर बनेको हाईब्रिड भाइरस देखिएको छ ।
भारतमा कोरोनाको लहर बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा परेकोले यो पटक पनि नेपालमा देखिएको भाईरस भारतमा देखिएको एक्सबीबी वान प्वईन्ट सिक्स्टीन हुन सक्ने चिकित्सकको अनुमान छ । हाल नेपालमा देखिएको भाईरस कुन भाईरस हो भनेर परीक्षण भने गरिएको छैन । तर, पनि पुष्टि भने जीन सिक्वेन्सिङ गरेपछि मात्र हुने जनाइएको छ । नेपालमा गत माघयता जीन सिक्वेन्सिङ गरिएको छैन । कोरोना बढेसँगै शून्य रहेका खोप केन्द्रहरुमा खोप लगाउने नागरिकको चहलपहल बढेको छ ।
अघिल्लो पटक देखिएका डेल्टा, ओमिक्रोन भेरीएन्टका अन्य प्रजातिभन्दा अहिले देखिएको भाईरस केही कमजोर भएको चिकित्सकले जनाएका छन् । यद्यपी यसको असर वृद्ध तथा दीर्घरोगीलाई बढी हुने हुनाले सजक रहन चिकित्सकको सुझाव रहेको छ । कोरोना संक्रमण देखिएकाहरुलाई स्वाद र गन्ध थाहा नपाउने, जाडो हुने तर ज्वरो उच्च नदेखिने, आँखाको गेडी दुख्ने, टाउको र शरीर दुख्ने, अत्यधिक थकान महसुस हुने, खोकी लाग्ने जस्ता लक्षण देखिएका छन् । वृद्ध र दीर्घरोगीलाई बुस्टर खोप लगाउन डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
कोरोना संक्रमणको जोखिम लामो समयसम्म हुने चिकित्सकहरुको अनुमान रहेको छ । कोरोना संक्रमणबाट बच्न आफै नै सर्तक हुनु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्