१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धुलिखेलमा अन्तर्राष्ट्रिय मूल्य तुलना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरू


156
Shares

काभ्रे । राष्ट्रिय तथ्यांक कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय मूल्य तुलना (आइसिपी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

एउटै प्रकृतिको उहीं वस्तुको मूल्य फरक–फरक नपरोस् भनेर संयुक्त राष्ट्र संघले तुलना योग्य मूल्य तयार गर्नका लागि विश्व ब्यापी रूपमा कार्यक्रम गर्दै आइरहेको हाे । सोही अन्तर्गत नेपालमा तुलना गर्न योग्य ६ सय ३३ वटा वस्तु र सेवाको मूल्य संकलन गरेर निरन्तर रूपमा अनुगमन र मापन गरिरहेको प्रमुख तथ्यांक अधिकारी रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

उहाँले तथ्यांकका विषय वस्तु आमजनता, नीति-निर्माताले सहजै बुझ्ने सहज र सरल हुनु पर्नेमा जोड दिनुभएको छ । तथ्यांककाे विधिकाे बारेमा खासै चासो नभए पनि परिणाम अत्यत्त महत्वपूर्ण हुने भएकाले गहिराइमा पुगेर छलफल गर्न उहाँले कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ ।

आइसिपीका कार्यक्रम संयोजक ज्ञानेन्द्र बज्राचार्यका अनुसार नेपाली बजारमा देखिएका ६ सय ३३ वस्तुलाई विभिन्न समूहमा वर्गीकरण गरेर अनुगमन गरिएको छ । तरकारी लगायतका मूल्य परिवर्तन भइरहने वस्तुको बाह्रै महिनाको, लत्ता कपडाको ३-३ महिना, औषधिको मूल्य, शिक्षाको शुल्क ६-६ महिनामा र गाडीको मूल्यको वर्षमा एक पटक मूल्य संकलन गरिने उहाँकाे भनाइ थियाे ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी नेविनलाल श्रेष्ठ, हेमराज रेग्मी लगायतका विषय विज्ञहरूले ६ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । मंगलबार पनि सोही कार्यपत्रमाथि छलफल भइरहेको तथ्यांक कार्यालय काभ्रेका प्रमुख दिपक कोइरालाले बताउनुभयाे ।