१२ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025


बिग्रेको सिष्टमभित्र ‘सिष्टम’ खोजी !


182
Shares

हालै भारतको गुजरातस्थित एक अदालतले भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई एउटा मानहानी मुद्दाको फैसला गर्दै दुई वर्षका लागि जेल सजाय सुनाएको छ । उक्त मुद्दाको फैसलामा भनिएको छ –उनले आफू उपर लागेको सजायका विरुद्ध उच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

राहुल गान्धी सो मुद्दामा उच्च अदालतमा अपिल गर्ने पक्षमा रहेको कुरा भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । सन् २०१९ मा भएको एक चुनावी ¥यालीलाई सम्बोधन गर्ने क्रममा काँग्रेसका नेता राहूल गान्धीले गुजरातमा ‘किन सबै चोरहरूको थर मोदी मात्र हुन्छ’ भनेर हिरा व्यापारी भनिएका नीरब मोदी लगायतका सबै मोदीहरूलाई एकै ठाउँमा राखेर प्रश्न गरेका थिए । यही इसूलाई उठाएर गुजरातका एक मोदी थरका सांसदले राहुललाई मोदी थर भएका आफूहरूको मानहानि भएको जिकीरमा अदालतमा मुद्दा हालेका हुन् ।

सन् २०१९ मा भएको घटनामा अदालतले हालै सजाय सुनाएको छ । फैसलाका दिन राहुल गान्धी आफ्ना समर्थकहरू साथमा अदालत गएका थिए । फैसलापछि उनका समर्थकहरूले गान्धीका पक्षमा नारा लगाउँदै ‘राहुल गान्धीको लोकप्रियतालाई खस्काउनका लागि वर्तमान मोदी सरकारले अदालतको समेत प्रयोग गरेको’ आरोप लगाए । ‘भारतीय राजनीतिमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीका यस्तै खाले हर्कतहरू एकपछि अर्को गर्दै आउनुले उनको आफ्नो स्थापित उँचो व्यक्तित्वलाई स्खलित गर्न तन्मयसाथ लागेका छन्’ भारतीय राजनीतिक विश्लेषकहरूले विभिन्न पत्रपत्रिकाहरूमा टिप्पणी लेखेका छन् ।

राहुल गान्धीको हालै सम्पन्न ‘भारत जोडो आन्दोलन’ मा भएको अपार जनसहभागिता र गान्धीको निष्ठा तथा समर्पण भावले उनलाई पुनः गान्धी परिवारमा एउटा सम्भावनायुक्त नेताका रूपमा स्थापित गरिदिएको छ । यही राजनीतिक उभारलाई रोक्नैका लागि मोदी सरकार विभिन्न हथकण्डाहरू प्रयोग गरिरहेको छ । जसमा यो पनि एक नयाँ प्रयोग हो । भारतीय समाचारहरूले विभिन्न कोणबाट क्रिया/प्रतिक्रिया जाहेर गरेका छन् ।

भारत संसारको सबैभन्दा ठुलो प्रजातान्त्रिक देश हो । संसारमा सिष्टम भएका लोकतान्त्रिक देशहरूमा युरोप, अमेरिका, अस्ट्रेलिया र क्यानाडालाई लिइन्छ । पूर्वी एसियाका केही देशहरू जस्तै : सिङ्गापुर, जपान, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया र चीनमा समेत शासनको सिष्टम बसिसकेको छ । तर, भारतलाई चाहिँ बिग्रेको सिष्टमभित्र सिष्टमको खोजी भएको मुलुक भनेर चिनिन्छ । त्यहाँ प्रजातन्त्र छ तर यद्यपि त्यो प्रजातन्त्र कहीँकहीँ मात्र सिष्टममा नत्र धेरजसो ‘जिसके हातमे लैठ, उसके भैँस’ भन्ने नै रहेको छ ।

भारतमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएका अरविन्द केजरीवालले राहुल गान्धीमाथि भएको यो घुमाउरो आक्रमणको खुलेर विरोध गरेका छन् । उनले भनेका छन् –‘बीजेपी अहिले निषेधको राजनीति गरिरहेको छ । यो लोकतन्त्रका लागि घातक छ ।’ बास्तवमा राजनीतिक नेतृत्वले चुनावमा भनेका कुराहरूलाई लिएर अनेकानेक नोकझोँक र शेरगुलहरू चुनावताकै उधूम रुपमा हुने गर्छन् । यिनै कुराहरूलाई गाली बेइज्जतीको इसू बनाएर मुद्दामा जाने हो भने नेपालजस्तो देशमा त राजनीति गर्नका लागि कोही पनि सद्दे बाँकी बँच्दैनन् होलान् ।

यहाँ चुनावमा हुने विभिन्न प्रकारका दन्त बझानलाई हेर्दा एकले अर्कालाई पत्ता साफ पार्नका लागि गरिने चुनावी गाईजात्रालाई हेर्ने हो भने संसारका जोकोही राजनीतिक विश्लेषकहरू नै चकित हुन्छन् ।

गएको चुनावमा प्रचण्ड र केपी ओलीका एकर्कालाई लगाएका आरोप प्रत्यारोप र चुनावी प्रहशनलाई एकै ठाउँमा जम्मा पारेर प्रकाशित गरिदिएको हुन्थ्यो भने एउटा किताबनै प्रकाशित हुन्थ्यो ।

तर, यहाँ ती कुराहरू समयान्तरमा पचे । जसै चुनाव सकियो ती कुराहरूले आरामका साथ सेफ ल्याण्डिङ् हुने मौका पाए । भारतमा भएको भए अनेकानेक खालका गाली बेइज्जतीका मुद्दाहरू दायर भएर अनेकौं राहुलहरूले दुःख बेसाउनु पर्दथ्यो ।
अरु त अरु राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उनी आफू गृहमन्त्रीबाट हट्नु पर्दा नेपाली प्रेस जगत्लाई ‘१२ भाइ मिडिया’ भनेर आक्षेप लगाएका कुराहरू सर्लक्कै भोलिपर्सि पल्टबाट केबल खण्डन मात्रै आए कोही मुद्दा मुकद्ममा जाने लण्ठो गरिरहन चाहेन । नेपाली समाज यति उदारमना प्रकृतिको छ कि ऊ आवेशमा आएर बोलेका कुराहरूलाई समेत पछि ठन्डा दिमागले सोचेर माफी मिनाहा गर्दिन्छ । क्षमादानको संस्कृति यहाँ बलियो भएर होइन, सबैले सबैका कर्तूत देखेर कसले कसलाई खुइल्याउन सकिन्छ भनेर मात्र दाउ हेरिन्छ । नसक्ने भएमा चुपो लागेर पर्खिइन्छ । यो नेपाली समाजमा धेरै अघिदेखि चल्दै आएको एक प्रकारको रीतिजस्तै देखिएको छ ।

‘जसको हातमा लठ्ठी, उसको भैँसी’ अहिले यही उखानको घुमाउरो प्रयोग राहुलमाथि भएको भन्ने खालका आरोपहरू समेत भारतीय राजनीतिकवृत्तमा उठ्न थालेका छन् । सो कुरालाई हेर्दा हाम्रो देश नेपालमा चाहिँ यस्ता कुरामा नेताहरूले कहिले सजग हुने भन्ने देखिन्छ । कानुनका अघि सबै बराबर भन्ने व्यवहार नेपालमा कहिले होला ? अहिले सो घटनाबाट यस्तै प्रश्न उठ्ने गरेका छन् ।

आपराधिक पृष्ठभूमिका व्यक्तिहरू चुनाव जितेर माननीय हुने र कानुनका हातबाट बच्न सफल भएका अनेकन उदाहरणहरू नेपाली राजनीतिक वृत्तमा सराबरी देखिने गरेका कहीँ कसैबाट लुकेका छैनन् । एमालेका सांसद लक्ष्मी महतो कोइरीको इस्सू त्यस्तै एउटा प्रतिनिधि इस्सू हो । नेपालमा यस्ता इस्सूहरू एकर्काले एकर्कालाई देखाउँदा तैँ चुप मै चुप भन्ने स्थिति देखिएको छ । यसमा राजनीतिक दलहरूको कुनै प्रकारको अब्जेक्सन भएको पाइँदैन ।