१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छिनछिनको मौसम परिवर्तनले संक्रमणको जोखिम बढ्यो


390
Shares

काठमाडौं । मौसम परिवर्तनसँगै विभिन्न रोगका संक्रमण बढ्दै जाने गर्दछ । छिनछिनमै मौसम परिवर्तन हुने कहिले चर्को घाम त केही छिनमै पानी पर्ने हुँदा यस्तो अवस्थामा संक्रमणको जोखिम झन् बढ्ने बताइन्छ । त्यस्तै, शरीरमा पानी र सरसफाईको कमीले मौसमी रोगको संक्रमण बढ्ने गरेको हो ।

गर्मी सुरुसँगै पानीबाट सर्ने रोगको जोखिम हुने हुँदा सजक रहन चिकित्सकहरुले सुझाव दिएका छन् । सामान्यतया गर्मी मौसममा झाडापखला, हैजा, टाईफाड, हेपाटाईटिस ए तथा ई को संक्रमण बढी हुने गर्दछ । खानेपानी र सरसफाईमा विशेष ध्यान नपुर्‍याएका कारण यस्ता प्रकारका संक्रमण देखिने चिकित्सक बताउँछन् । त्यस्तै गर्मी महिनामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी, किर्नाबाट सर्ने स्क्रपटाईफासलगायतका संक्रमण उच्च हुन्छ ।

गाम्रीण क्षेत्रमा मुसाको पिसाबबाट लाग्ने लेक्टोस्पारोसीस रोग तथा सर्पदंशका बिरामी पनि वर्षा याममा बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । खानपान र सरसफाईमा ध्यान पुर्‍याउन सके यस्ता रोगबाट बच्न सकिने सरुवारोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउनुुहुन्छ ।

मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कम हुने भएकाले संक्रमण बढ्ने चिकित्सकहरुले बताएका छन् । घरबाहिरका र बासी सडेगलेका खानेकुरा नखाने, सफा पानी पिउने, घाममा धेरै बाहिर ननिस्कने गर्दा यस्ता संक्रमणबाट जोगिन सकिने डा. पुन बताउनुुहुन्छ ।

गर्मी शुरुसँगै देशको हिमाल, पहाड तराई सबैतिर विभिन्न रोगको संक्रमण बढ्ने खतरा भएकाले यसबाट बच्न सबैले सन्तुलित खानपानसहित जीवनशैलीमा ध्यान दिन जरुरी छ । गम्भीर क्षति व्यहोर्नुअघि नै सरकारी निकायले रोग लाग्नै नदिन सचेतना कार्यक्रम र रोग लागेको खण्डमा तत्काल उपचारको प्रबन्ध मिलाउन ढिला गर्न हुँदैन ।