
ताप्लेजुङ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ ।
प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए ।
उनीहरुले टाउकोमा नाम्लो लगाएर पिठ्यूँमा १५ किलो बालुवा सहितको डोको बोकेर १३ किलोमीटर दौडिएका थिए ।
प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू पहिलो भएका थिए । यस्तै मैवाखोलाका प्रकाश लिम्बू र फक्ताङलुङका छत्रबहादुर कार्की क्रमशः दोश्रो र तेश्रो भए । प्रथम हुनेलाई ३० हजार, दोश्रा हुनेलाई २० र तेश्रो हुनेलाई १० हजार रुपैँया नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियाे ।
मौलिक सीप र वस्तुको प्रयोग हराउँदै गएका बेला कृषि, पर्यटन र उद्योगको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले प्रतियोगिता आयोजना गरेको महासंघका अध्यक्ष राजेन्द्र भारतीले बताउनु भयो ।
गाउँघरमा दाउरा, घाँसपात र पानीको गाग्री बोक्न प्रयोग हुने परम्परागत साधन डोकोलाई दौड प्रतियोगितामा समेत प्रयोग गरिँदा यसले आम दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने दौडको अवलकोन गरिरहेकाहरुले बताए ।
प्रतिक्रिया दिनुहोस्