२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


‘रेडक्रसकर्मी राजनीतिमा तटस्थ र मानवीय सेवामा सक्रिय बनौं’


65
Shares

म्याग्दी । म्याग्दीका रेडक्रसकर्मीहरुले राजनीतिक आस्थालाई बिर्सेर तटस्थ रही मानवीय सेवामा सक्रिय बन्नुपर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आइतवार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनमा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको रेडक्रसमा आबद्ध हुन पाउँदा गौरवान्वित हुनुपर्ने बताउनुभयो । सेवाको भावना स्वतस्फूर्त रुपमा मनमा नआएसम्म मानवीय कार्यमा लाग्न नसकिने बताउँदै सभापति बानियाँले भन्नुभयो, ‘अरुको उपकार र समाजको सेवाका लागि बाँच्नसक्नु नै सच्चा जिन्दगी हो।’

वेनी नगरपालिका ३ का वडाअध्यक्ष पदमबहादुर पुनले द्धन्द्ध कालमा आफूँ सेनाको हिरासतमा रहँदा अन्तराष्ट्रिय रेडक्रस र म्याग्दी रेडक्रसले गरेको सहयोगको स्मरण गर्नुभयो । रेडक्रस मानवीय सहयोगका लागि स्थापित निष्पक्ष संस्था भएकोले राजनीति पूर्वाग्रहको गन्ध आउन नहुने बताउँदै उहाँले राजनीतिक विचार जेसुकै भए पनि रेडक्रसमा समेटिएपछि तटस्थ रहेर मानवीय सेवामा समर्पित हुनसक्नुपर्नेमा जाेड दिनुभयाे ।

अधिवेशनले डेकबहादुर घर्तीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सोही अवसरमा ११ जनाले स्वतस्फुर्त रुपमा रु २५ हजार सहयोग गरी विशिष्ट सदस्यता लिनुभएको थियो ।

निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यलाई नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपकोषाध्यक्ष एवम् निर्वाचन अधिकृत शिव बानियाँले पर्यटकीय स्थल बेलढुङ्गामा सपथग्रहणसहित प्रमाणपत्र र आयोजक उपशाखाको निवर्तमान सभापति सुवेदीले अतिथीहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।