
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा सोमबार राति जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा वालिङ नगरपालिका–५ बस्ने ५१ वर्षीय जीप चालक टेक बहादुर खड्का, वालिङ–४ बस्ने २८ वर्षीय सन्तोषी मल्ल र चापाकोट नगरपालिका–३ बस्ने रेशमा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । चापाकोटको पुम्दीबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ४१७१ नम्बर जीप बडहरेमा दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइतेमध्ये जीप चालक खड्का र मल्लको टाउकोमा चोट लागेको छ । घाइतेहरुलाई वालिङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।
जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्