५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


‘फुटुङ अभिलेख’ शक संवत नेपालमा प्रचलनमा नभएको प्रमाण


5.252k
Shares

काठमाडौं । लिच्छवीकालमा नेपालमा शक संवत प्रचलनमा रहेको मानिन्छ । तर, केही दिन अगाडि काठमाडौंको फुटुङमा फेला परेर नष्ट गरिएको अभिलेखले यो मान्यतालाई मिथ्या सावित गरेको विज्ञहरूको दाबी छ । प्रष्ट रुपमा यो अभिलेखमा दुई वटा लिच्छवी संम्बत उल्लेख रहेको छ ।

नेपालको प्राचिन इतिहासमा नयाँ तथ्य उजागर गर्ने अभिलेख काठमाडौंको फुटुङमा फेला परेको थियो । स्थानीय राजेन्द्र मास्केको घरमा पानी ट्यांकी बनाउने क्रममा जमिन खन्दा फेला परेको अभिलेख यस कारण पनि पुरातात्विक र ऐतिहासिक अति महत्वपूर्ण थियो कि एउटै अभिलेखमा दुई वटा सम्वत उल्लेख गरिएको थियो ।

अभिलेख नष्ट हुनुअघि खिचेको फोटोको आधारमा लिपीविज्ञ श्यामसुन्दर राजवंशीले लिप्यान्तर गर्नु भएको थियो । लिप्यान्तर गर्दा प्रष्ट रुपमा दुई वटा अधिमाससहित पहिलो पंक्तिमा संवत् ४३३ प्रथमाषढ शुक्ल दिवा १२ छ भने अन्तिममा संवत् ४३५ द्धितिय पौष शुक्ल दिवा अंकित गरिएको छ । पहिलो हरफमा महिदेव र दोस्रो हरफमा वसन्तदेवले रवी गुप्त मार्फत प्रशासनिक राजआदेश जारी गरेको अभिलेखमा प्रष्ट देखिने लिपीविज्ञ राजवंशीको भनाइ छ ।

दुवै मितिमा अधिमास जनिएको कारण शक संवत् नेपालमा प्रचलन नभएको ऐतिहासिक अकाट्य दरिलो प्रमाण यो अभिलेख भएको उहाँको दाबी छ । अभिलेखमा उल्लेखित दुवै संम्वत लिच्छवी संम्वत हो उहाँको भनाई छ । अहिलेसम्म कुनै पनि शास्त्रले ती मितिहरुमा अधिमास देखाउन नसकेको लिपीविज्ञ श्यामसुन्दर राजवंशी बताउनुहुन्छ ।

विगतमा पाटन दरबार क्षेत्रमा पाएको संवत् ५३६ ज्येष्ठ शुक्ल पूर्णिमा उल्लेख भएको अशुंवर्माको अभिलेख र गोकर्णको बालुवा गाउँमा प्राप्त अशुंवर्माकै संवत् ५३६ द्धितीय पौषको अभिलेखले पनि यो तथ्यलाई पुष्टि गरिसकेको छ ।

यी अभिलेखहरुले नेपालको इतिहासमा नयाँ मोड दिएकोले अहिलेको लिखत इतिहास सालक्रम अनुसार पुनः लेखनकार्य गर्ने प्रेरित गरेको राजवंशी बताउनुहुन्छ । फुटुङ अभिलेख नष्ट भएका कारण शक संवत् नेपालमा छ भन्ने जमातलाई खुशी र सन्तोष भएको होला तर नेपालमा प्रामाणिक इतिहासमा भने ग्रहण लागेको उहाँ दुःखेसो छ ।

अभिलेख के कति कारण अभिलेख विनाश भयो, यसको गम्भीर अनुसन्धान पनि हुनु आवश्यक छ । सबै विज्ञहरूको छलफलबाट इतिहासलाई आवश्यकता अनुसार संशोधन गर्न पनि आवश्यक छ ।