३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


निर्णायक र हस्तक्षेपकारी भूमिकामा महिला प्रहरी


299
Shares

काठमाडौं । एक दशक अघिसम्म महिला सहभागिताका हिसाबले प्रहरीको उच्च अधिकारीमा शिला खोज्नुपर्ने अवस्थाको अन्त्य मात्र भएको छैन, प्रहरी इतिहासमा पहिलो पटक तीन महिला प्रहरी एआईजी भएका छन् । त्यसो त ३० औं आईजिपी नियुक्तिमा महिला प्रहरी एआइजी किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रहरी संगठनभित्रको महिला सशक्तिकरण अरु फौजी संगठनका लागि पनि अनुकरणीय बनेको छ ।

किरण बज्राचार्य नेपाल प्रहरीको इतिहासमा पहिलो पटक महिला प्रहरी आईजीको प्रतिस्पर्धामा पुग्न सफल भएपनि प्रमुख हुने सौभाग्य भने जुरेन । फौजी संगठनमा महिलाको सहभागिता अभूतपूर्व देखिएको छ । त्यति मात्र होइन उच्च पद तथा नेतृत्वदायी भूमिकामा पुग्ने महिला प्रहरीको संख्यामा वृद्धि हुँदै गएको छ । नेपाल प्रहरीका महत्वपूर्ण विभाग, व्युरो, प्रदेश तथा जिल्ला नेतृत्वमा महिला प्रहरीको उल्लेख्य उपस्थिति रहेको छ ।

एआईजी बज्राचार्य पहिलो पटक आइजीको प्रतिस्पर्धी मात्र होइन, नेपाल प्रहरीको महत्वपूर्ण विभाग हाक्ने प्रहरी अफिसरसमेत बन्न सफल हुनुभयो । २०५१ चैतमा प्रहरी संगठनमा प्रवेश गरेकी बज्रचार्यसंग जिल्ला, परिसर, इन्टरपोल, प्रदेश र व्युरोको समेत कमाण्ड सम्हालेको अनुभव छ । एआईजी भएलगत्तै उहाँले नेपाल प्रहरीको गहन र गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को नेतृत्व गर्ने अवसर पाउनुभएको छ । प्रहरी संगठनभित्रको संवेदनशील मानिने व्युरोको प्रमुखमा पहिलो महिला प्रहरी पुगेको ऐतिहासिक जश बज्राचार्यलाई प्राप्त भएको छ ।

प्रहरीको ६५ वर्षे इतिहासमा पार्वती थापा र विमला थापा डिआइजीसम्म पुग्नुभएको थियो । त्यसपछि केही समय नेपाल प्रहरीमा प्राविधिकबाहेक महिला डिआईजी भएनन् । २०७८ मा पूजा सिंह डिआईजी हुनुभयो । डिआईजी भएपछि उहाँले वाग्मती प्रदेश प्रहरी प्रमुख भएर काम गर्नुभयो । २०७९ जेठमा एआईजी भएसँगै सोही वर्षको फागुन ७ गते अवकास पाउनुभयो ।

नेपाल प्रहरीको प्राविधिकतर्फ एक महिला एआईजीको प्रतिनिधित्व छ । नेपाल प्रहरीको स्वामित्वमा रहेको प्रहरी अस्पतालको नेतृत्व एआईजी डा. आशा सिंहले गरिरहनुभएको छ । त्यस्तै, केही दिन अघिमात्र सरकारले डिआईजी मिरा चौधरीलाई एआइजीमा बढुवा गरेको छ । मिरा चौधरी यसअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख हुनुहुन्थ्यो । संयोग कस्तो भने बज्राचार्य र चौधरीले एकै समयमा प्रहरीमा प्रवेश गर्नुभएको हो । डिआईजी दुर्गा सिंह र किरण राणा पनि बज्राचार्य र चौधरीका समकालीन हुन् ।

त्यस्तै, प्राविधिकतर्फ एसएसपी देउती गुरुङले पनि इन्चार्जको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । उहाँ केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगञ्जको प्रमुख हुनुहुन्छ । एसपी दर्जामा रहेका प्रहरीभित्र कार्यरत महिला प्रहरीको संख्या ८ रहेको छ । अहिले देशभर एसपीको संख्या १ सय ६२ रहेको छ । कुल एसपीको संख्या हेर्दा महिला प्रहरी एसपीको प्रतिशत करिब ५ प्रतिशत मात्र हो । ४ सय ४१ जना डिएसपी छन । महिला डिएसपीको संख्या २८ रहेको छ ।

प्रहरीमा महिला प्रहरी जवान सबैभन्दा धेरै छन् । त्यसो त प्रहरी संगठनमा सबैभन्दा धेरै संख्या भएको पद पनि जवान नै हो । ५ हजार ६ सय ३० जना महिला प्रहरी जवान छन् । जवकी कुल पुरुष प्रहरीको संख्या ३७ हजार ८ सय ४९ छ । नेपाल प्रहरीभित्र ६८ जना एसएसपी छन । जसमा महिला एसएसपीको संख्या ७ रहेको छ । प्रतिशतमा यो १० प्रतिशत हाराहारी हो ।