२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


राष्ट्रिय फेन्सिङ प्रतियोगितामा ५ पदकसहित बागमती पहिलो


65
Shares

कैलाली । धनगढीमा सम्पन्न भएको पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले एक स्वर्णसहित ५ पदक जित्दै पहिलो हुन सफल भएको छ ।

धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघकाे आयोजनामा सम्पन्न भएको प्रतियोगितामा बागमतीले एक स्वर्ण, २ रजत र २ कास्य पदक जितेको हो । बागमती प्रदेशका लागि सेभर पुरुषतर्फ सिनियर खुला विधामा पायस योन्जनले स्वर्ण जितेका हुन् । त्यस्तै सेभर महिला तर्फ सिनियर खुला विधामा बागमतीका खेलाडी सोफीया चन्दले रजत जितेकी हुन् ।

सोही विधामा बागमतीकै गोमा आचार्यले कास्य जितेकी छन् । इपी महिलातर्फ जुनियर २० वर्ष मुनिको फेन्सिङमा बागमतीका अस्मिता घिसिङले रजत र सोफिया चन्दले नै कास्य हात पारेकी थिइन् । बागमतीले इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनिको फेन्सिङमा भने कुनै पदक जित्न सकेन ।
विभागीय टोली सशस्त्र प्रहरी क्लबले एक स्वर्ण, एक रजत र दुई कास्यसहित ४ पदक जित्यो ।

एपीएफ क्लबका लागि सेभर महिलातर्फ सिनियर खुला विधामा सुपमाया घिसिङले स्वर्ण जितेकी हुन् । त्यस्तै सेभर पुरुषतर्फ सिनियर खुला विधामा एपीएफ क्लबका खेलाडी राजेन्द्र गजुरेलले रजत र खेमराज खत्रीले कास्य पदक जितेका छन् । सेभर महिलातर्फ सिनियर खुला विधामै एपीएफकी उर्मिला लामाले कास्य जितेकी हुन्।

साथै गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कांस्य जित्न सफल भएकाे छ । उसका खेलाडी कृपा गुरुङले इपी महिलातर्फ जुनियर २० वर्ष मुनिको फेन्सिङमा स्वर्ण जितेकी हुन् । गण्डकीले इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनिको फेन्सिङमा सचिन खत्रीले रजत र कुमार मल्लले कास्य पदक हात पारेका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशले पनि एक स्वर्ण र दुई कास्य जितेकाे छ । सुदूरपश्चिमका लागि इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनिको फेन्सिङमा लक्ष्यजंग शाहीले स्वर्ण दिलाएका हुन् । सेभर पुरुषतर्फ सिनियर खुला फेन्सिङमा सुदूरपश्चिमका खेलाडी रवीन्द्र शाहले कास्य जितेका हुन् । त्यस्तै इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनिको फेन्सिङमा भरत देउवाले कास्य जितेका छन् ।

प्रतियोगिताका विभिन्न विधामा स्वर्ण जित्नेले नगद १५ हजार, रजत जित्नेले १० हजार र कास्य जित्ने खेलाडीले ५-५ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा बागमती, कोशी, गण्डकी र सुदूरपश्चिमका गरी ४ वटा प्रदेशका ७७ जना खेलाडी सहभागी भएका थिए । विभागीय टिम सशस्त्र प्रहरी पनि प्रतियोगितामा सहभागी भएकाे थियो ।

इपीमा २० वर्षमुनि उमेरका महिला र पुरुष दुवै विधामा खेल भएकाे थियाे । साथै सेभरमा खुल्ला तर्फ पनि महिला र पुरुष गरी दुवै विधामा खेल भएका थिए ।