१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जयपृथ्वी राजमार्ग सडक मुनि भ्वाङ


637
Shares

बझाङ । बझाङको सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा सडकको मुनि पट्टी ठुलो भ्वाङ परेको छ । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने तमैल बजार नजिकै सडकको सडक मुनि पट्टी ठुलो भ्वाङ रहेको छ ।

यस विषयमा सवारी चालक तथा अन्य व्यक्तिहरुले नदेखेका कारण जोखिम मोलेर सवारी साधन ओहोरदोहोर भइरहेका छन् । सेती नदीको कटानका कारण उक्त भ्वाङ परेको स्थानीय खप्तडछान्ना गाउँपालिकाका ऐन बहादुर रोकायाले बताए ।

सडकको छेउछाउबाट समेत उक्त भ्वाङ देखिदैन, सेती नदी पारीबाट राम्रोसँग स्पष्ट तरिकाले देख्न सकिने रोकायाले बताए । उनले भने,‘यो फोटालाई धेरै जस्तो व्यक्तिहरुले विभिन्न सामाजिक सञ्जालमा राखेको भए पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । जब दुर्घटन हुन्छ । जब सडक अबरुद्ध हुन्छ । त्यसपछि मात्रै सरोकार वाला निकायको ध्यान जान्छ । त्यत्रो ठुल ठुला मालवाहक ट्रक तथा अन्य सवारीका साधनहरु ओहोर दोहोर गरी रहेका हुन्छन् । कुन दिन ठुलो दुर्घटना हुन्छ,थाहा छैन । यस विषयमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ।’

खरखरे बलौटे माटो छ । ठुला सवारीका साधन ओहोर दोहोर गर्दा खरखरे बलौटे माटो झरी रहन्छ । थलारा गाउँपालिका वडा नम्बर ९ का स्थानीय ईश्वर बहादुर भण्डारीले भने, ‘यो ठाउँमा बाइक ओहोर दोहोर गर्न समेत मलाई निकै डर लाग्छ । सडकबाट हेर्दा केहि पनी देखिदैन । तर सेती नदी पारी पट्टी बाट हेर्नेहो भने सडक मुनि ठुलो भ्वाङ परेर सडकको कुना सम्म पुगी सकेको छ । सेती नदी पारी बसाई भएका कारण उक्त भ्वाङमाथि बाट सवारीका साधनहरु ओहोर दोहोर गरी रहेको देख्दा आफुलाई निकै डर लाग्ने गरेको छ।’ यो विषयमा धेरैलाई आफुले जानकारी समेत गराई सकेको उनले बताए ।

सडक भत्किन केही समय नलाग्ने भएका कारण समयमा नै मर्मत गर्न जरुरी रहेको सदुरपश्चिम बस व्यवसायी समितिका सदस्य जोग बहादुर दौल्यालले बताए । उनले भने , ‘यो सडकको अवस्थाका बारेमा कुनै पनि सवारी चालक तथा सवारी धनीहरुलाई जानकारीसम्म पनि छैन । यदी यो भ्वाङ देख्ने हो भने कुनै पनी चालकले आफ्नो ज्यानको बाजी राखेर तथा सवारी साधन नै जोखीममा राखेर सवारी साधन ओहोर दोहोर गर्न सक्दैनन् । सवारी चालक तथा सवारी धनिहरुले नदेखेका कारण नै अहिले सम्म सवारी साधनहरु सञ्चालनमा रहेका छन् । हामीलाई समेत यो भ्वाङ यत्रो सम्म होला भन्ने कल्पनासम्म पनि गरेका थिएनौ । तर साँच्चीकै जोखीम नै रहेछ । समयमा नै यो मर्मत नगर्ने हो भने ठुलो दुर्घटना हुने खतरा छ।’

यस विषयमा आफुलाई जानकारी नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले सडक मर्मत गर्नका लागि आफुले सडक डिभिजन कार्यालय बैतडीलाई मौखीक र लिखित जानकारी गराई सकेको बताए । उनले भने, ‘यो विषयमा हामी गम्भीर भएका छौँ ।’ केही समय भित्र उक्त सडक मर्मतको कार्य अघि बढ्ने उनले बताए।