१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किशोरी अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री अधिकारी


338
Shares

नवलपुर । किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले बताउनुभएको छ ।

प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सोमबार अधिकारीले सो धारणा व्यक्त गरेका हुन् ।

नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ४० जना किशोरीहरुले आफुहरुले काम गर्दा आएका विभिन्न विषयहरुलाई ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् ।

किशोरीहरुले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिकाहरुको लागि गरिदिनुपर्ने कामहरुको बारेमा २५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा विशेषगरी बालिकाहरुको लागि आवश्यक पर्ने विभिन्न विषयहरुको बारेमा स्वयम् किशोरीहरुले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता सवनम सुनारले बताउनुभयो ।

ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरु र संरचनाहरुको निर्माण गरिनुपने, प्रदेश तहमा बन्ने हरेक समितिहरुमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयहरुमा सेनिटरी प्याडको गुणस्तर र विसर्जन जस्ता विषयहरु समावेश गरिएको किशोरी अभियन्ता एवम जिल्ला बालक्लव सञ्जाल नवलपुरकी सचिव आशिका पोख्रेलले जानकारी दिनुभयो ।