
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत एक जना प्रहरीलाई मोटरसाइकल चोरीको मुद्दा लागेको छ । प्रहरी जवान उपेन्द्र भण्डारीविरुद्ध मोटरसाइकल चोरीको अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकमा कार्यरत दोलखा मेलुङ गाउँपालिका घर भएका प्रहरी जवान भण्डारीविरुद्ध प्रहरीले जिल्ला अदालत रामेछापमा सोमबार चोरी कसुरमा मुद्दा दायर गरेको हो ।
पीडित रमेश नेपालीको उजुरीको आधारमा प्रहरीले खोजी गर्ने क्रममा सीसी क्यामेराको फुटेजबाट हराएको मोटरसाइकल र सो मोटरसाइकल चलाउने प्रहरी जवान भण्डारीको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।
सीसी टिभी फुटेजका आधारमा आवश्यक सोधपुछ गर्दा घटनामा संलग्न प्रहरी जवान भण्डारीले मोटरसाइकल चोरीमा आफ्नो संलग्नता रहेको स्वीकार गरेकाले उनलाई निलम्बन गरी आवश्यक कानुनी कारबाहीका लागि उपलब्ध प्रमाणसहित जिल्ला अदालतमा चोरी कसुरमा मुद्दा अगाडि बढाइएको छ ।
बागमती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको यामाहा एफ जेट कालो रङ्गको मोटरसाइकल मन्थलीको कृषि विकास बैङ्कबाट मन्थली नगरपालिकाको कार्यालय झर्ने ओरालोमा पार्किङ गरिराखेको अवस्थामा गत शुक्रवार राति साढे ८ बजेको समयमा हराएको थियो ।
मोटरसाइकल हराएपछि मोटरसाइकल धनी नेपालीले प्रहरी कार्यालयमा आइतवार उजुरी दिएका थिए । प्रहरीले हराएको मोटरसाइकलको पाट पुर्जा टुक्रा टुक्रा पारेको अवस्थामा मन्थली नगरपालिका–१ हाटे चौर स्थित एक घरको कोठामा फेला पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्