१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बझाङमा महिलाहरुको पुतली (पुत्ला) सेलाउने पर्व लोप हुँदै


1.508k
Shares

बझाङ । नयाँ बर्षको आगमन सँगै पुरुषहरुले बेलुकी पख काँकर खेल खेल्ने र दिउँसो महिला दिदी–बहिनीहरुले पुतली सेलाउने परम्परा थियो । अहिले यो परम्परा धेरै गाउँबाट लोप भै सकेको छ ।

थलारा गाउँपालिका–९ अन्तर्गत फकाली अफ्ला, मालुमेला, रावली, चित्रु, सिरेटा लगायतका ठाउँका महिला दिदी–बहिनीहरुले नयाँ कपडाको पुत्ला (पुतली) बनाउने र पछि बाजागाजा सहित गाउँभरीका महिला दिदी–बहिनीहरुले पानीको पधेरोमा गएर पुजाआजा सहित सेलाउने चलन थियो । अहिले यो प्रचलन कुनै पनि गाउँमा देखिँदैन ।

यो परम्परा थलारा गाउँपालिकामा मात्रै नभई बझाङ जिल्लाका धेरै जस्तो गाउँहरुका दिदी–बहिनीहरुले खेल्दै आएका थिए । दुलही बनाएर रुने र पधेरोमा पुगेपछि पूजाआजा गर्ने गाउँभरीबाट विभिन्न किसिमका मिठा परिकार बनाउनका लागी अनाज जम्मा गरेर मिठा मिठा परिकार बनाएर खाने परम्परा लोप भएको स्थानीय बयोवृद्ध महिला झिरकुली विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ कपडा बनाउदा बाँकी रहेका कपडा टुक्राहरु जम्मा पारेर पुतली (पुत्ला) बनाउन्थेऊ । पोईली घर गएका छोरी चेलीहरु गाउँमा जम्मा हुने सबै सँगै एउटै ठाउँमा खाना खाने र रमाईलो गर्ने परम्परा थियो । अहिले अफ्लाको गाउँमा पुतली नसेलाएको ३ वर्ष भन्दा बढी भयो । अहिलेका छोरी चेलीहरुलाई यो पर्वको बारेमा नत चाँसो छ, नत चिन्ता नै । कुनै पनि वास्ता नगरेका कारण महिला दिदी–बहिनीहरुको मनोरन्जन गर्ने पुतली (पुत्ला) सेलाउने परम्परा लोप भएको हो ।’

फकालीमा भने यो परम्परा लोभ भएको एक दशक भन्दा बढी भयो । अहिले छोरी चेली एक आपसमा भेटघाट हुने, माइती घरका र पोईली घरका सुख दुःखका कुरा हुने माध्यमको अन्त्य समेत भएको आफुले पाएको सन्तु देवि भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला पहिला फोन भन्ने थिएनन् । महिला दिदी–बहिनीको भेट हुने एउटै माध्यम भनेको र सुख दुःखका कुरा गर्ने थलो भनेको नै यही पर्व थियो । सबै महिला दिदी–बहिनीहरुसँग कुरा गर्नका लागी र भेट गर्नका लागी एक वर्ष सम्म कुर्नु पथ्र्यो । अहिले त के हातहातमा मोबाइल छन् । सुख दुःखका कुरा त्यसै बाट भै हाल्छ । यस्तो पर्वको यिनीहरुलाई के को आवश्यकता ? र यो पर्वको के महत्व ? हामीलाई त कति रमाईलो हुन्थ्यो ।’ पुतली सेलाएको सम्झदै उहाँले विवाह हुनु अघि आफुले माईती घरमा धेरै पटक पुल्ती सेलाएको सम्झिनु भयो । उहाँले अब यो पर्व जगेर्ना गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

यो पर्व छविसपाथिभेरा, खप्तड छान्ना गाउँपालिकाका केही गाउँहरुमा भने अहिले पनि मनाईदै आएको छ ।