२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


तानसेन नगरपालिकाले भत्कायो दरवार भित्रका घर टहरा


377
Shares

पाल्पा । तानसेन नगरपालिका पाल्पाले दरवार संग्रहालय परिसर भित्रका घर टहरा भत्काएको छ । ३ वटा डोजर प्रयोग गरी तानसेन नगरपालिकाले दरवार परिसरमा रहेका घर टहरालगायतका पसलहरु भत्काएको हो ।

पाल्पा दरवार परिसरलाई विश्व सम्पदा सूचिमा पार्न, दरवारलाई पुरानै मौलिकतामा राख्न, बृहत गुरुयोजना अनुसार तानसेन नगरपालिकाले पहिलो चरणमा परिसर क्षेत्रका ५७ घर टहरा भत्काएको जनाएको छ ।

पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा पसल, घरेलु शिल्पकला विक्री भण्डारका १३ वटा पसल, रेडक्रस पाल्पा शाखाका ३ वटा पसल, नेपाल बाल संगठनको १ वटा, कर्मचारी मिलन केन्द्रका ३ वटा, राणाकालिन समयदेखि प्रयोग हुदै आएका २४ वटा सटर गरी ५७ वटा सटरहरु सरकारी जग्गा निर्माण गरी स्थानीयवासीले व्यापार व्यवसाय गर्दै आएका थिए ।

दरवार परिसर भित्र प्रवेश गर्ने मुल ढोका २०६२ माघ १८ को तत्कालीन विद्रोही माओवादी आक्रमणमा क्षति भएको थियो । क्षति भएको दरवारको मुल ढोका मर्मत गर्न पुरातत्व विभागले दरवार परिसरका व्यापारीक पसलहरु हटाउन भन्दै २०७९ साल माघ १० गते नगरपालिका लाई पत्राचार गरेको थियो ।

दुई चार दिनभित्रै संरचना पूर्ण रुपमा हटाएर सरसफाई गरी दरबारको पुरानै स्वरुप कायम गरिने नगरपालिकाले जनाएको छ । दरवार परिसर भित्र जिल्ला समन्वय समिति, बाल संगठन, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, नेपाल विधुत प्राधिकरण, नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय रहेका छन् । तानसेन नगरपालिकाले केही व्यापारीहरु ४२ लाख रुपैयाँबाट बहालकर नआएको तत्कालन भुक्तानी गर्न समेत पसलधनीहरुलाई अनुरोध गरेको छ ।