
काठमाडौं । गाँस, बास, कपास सडकमा लिएर आफूमाथि परेको वित्तीय अपराधको निदान खोजिरहेका मिटरब्याजी र लघुवित्त पीडितहरुले सरकारको निर्मम व्यवहारबाट आफूहरु थप मर्माहत भएको बताएका छन् । प्रहरीले लत्ताकपडा, खाद्यान्न खोसेर अमानवीय ढंगले कुटपिट गरेको भन्दै आफ्नो मानवअधिकार खोसिएर विपत्तिमा परेको दुखेसो गरेका छन् ।
आफूहरुमाथि परेको पीडा पोख्न राजधानी पुगेर सरकारसँग गुहार माग्दा जनताको सरकारले जनतामाथि नै लाठी बनाएको मिटरब्याज पीडितहरु बताउँछन् । निहत्था जनताको शान्तिपूर्ण आन्दोलन दबाउन लाठी, पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरिएकोमा पीडितहरुको आपत्ति छ । प्रहरी लाठीबाट घाइते पीडितहरु आफ्नै खर्चमा उपचार गर्न बाध्य छन् । प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा झण्डै २ दर्जन आन्दोलनकारी र आधा दर्जन प्रहरी घाइते भएका थिए ।
गाउँबाटै झोलामा रासनपानी बोकेर न्याय माग्न आएका पीडितहरु प्रहरीले गाँसबास खोसिदिएकोमा आक्रोशित छन् । आन्दोलनकारी गाँसविहीन भएपछि मानवीय हिसाबमा आफूहरुले खानपानको व्यवस्था मिलाउँदै आएको एक होटल व्यवसायी राजमणी भट्टराई बताउनुहुन्छ ।
मिटरब्याजी साहु र लघुबित्तले दिनदिनै आएर मानसिक पीडा दिनेका कारण आफूहरु कि गर कि मरको अवस्थामा पुगेको पीडितहरु बताउछन् ।
रत्नपार्कस्थित शान्ति बाटिकालाई न्याय माग्ने थलो बनाउँदै आएका पीडितहरुको माग सम्बोधनमा सरोकारवालाहरुको सक्रियता आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्