२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सुनकोशी मरिण टनेल निर्माणका क्रममा २ पटक भौगर्भिक अवरोध


65
Shares

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको टनेल निर्माणका क्रममा दुई पटक भौगर्भिक अवरोध देखा परेको छ ।

सुनकोशी–मरिण डाईभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक मित्र बरालले टनेल निर्माणका क्रममा दुई पटक भौगर्भिक अवरोध देखा परेको बताउनुभएकाे हाे । हालसम्म ४ दशमलव ६ किलोमटर सुरुङ निर्माणका क्रममा दुई पटक टिविएमलाई अवरोध गर्ने किसिमले भौगर्भिक अवरोध आएको उहाँले बताउनुभएको हो ।

टनेल निर्माणका क्रममा भौगर्भिक अवरोध आए पनि यस समस्यालाई समाधान गरी अगाडि बढने काम भइरहेको उहाँले बताउनुभयो । पछिलो पटक ४ दशमलव ६ किलोमिटर क्षेत्रमा सेतो माटोको पहिरो खस्ने भौगर्भिक समस्याले टिविएम चल्न नसकेको बताउदै याे समस्या समाधान गर्न विज्ञटिम लागिरहेको उहाँकाे भनाइ थियाे ।

कुल १३ दशमलव ३ किलोमिटर सुरुङ तयार गर्ने योजना अनुसार ७ महिनाको अवधिमै ४ किलोमिटर सुरुङ निर्माण भएको हो । आयोजनाले १३ दशमलव ३ किलोमिटर सुरुङ निर्माण गर्ने अवधि १ वर्ष १० महिनाको अवधि लाग्ने लक्ष्य राखेको थियो । सुरुङ निर्माण गर्ने कार्यमा कुनै भौगर्भिक समस्या नआई यहि रफ्तारमा अघि बढे तेकिएकाे समय अगावै सुरुङ निर्माण कार्य सम्पन्न हुने अपेक्षा गरिएकाे छ ।

सुनकोशी–मरिण डाईभर्सन बहुउदेश्यीय आयोजनाको सरुङग निर्माणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरुको टोली समेत परिचालित रहेको आयोजनाले जनाएको छ । निर्माण क्षेत्रमा विभिन्न भौगोलिक बनावट भएका कारण कुनै जटिल समस्या आउने नआउने अहिले नै आकलन गर्न नसकिने जनाइएको छ ।

सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि गत असोज महिनाबाट टिविएमले सुरुङ खन्ने काम गरेसँगै आयोजना निर्माणको काम तीब्र गतिमा संचालन भइरहेको छ । आयोजनाको सुरुङ निर्माणको कार्य चाइनिज ठेकेदार चाईना ओभरसिज इन्जिनियरिङ कम्पनी कोवेकले गरिरहेको छ ।