१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बसन्त ऋतुसँगै खुलेको धोबी खोला करिडोर (तस्बिरहरु)


143
Shares

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर रहेको भन्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकानेक टिकाटिप्पणी भइरहँदा धोवीखोला करिडोरमा फुलेका मौसमी फूलले भने बेग्लै रौनक प्रवाहित गरेको छ । क्षणिक नै किन नहोस् यसले कालो बादलमा चाँदीको घेराजस्तै आशा जगाएको छ ।

बसन्त ऋतुहरुको राजा हो । यो समयमा बनस्पतिले चोला फेर्छ । पुराना पातले विश्राम लिएर पिपिरापिपिरी पलाउँछन् । यो समयमा प्रकृतिको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई म ऋतुहरूमा बसन्त ऋतु हुँ भनेका छन् । पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतुमाथि सयौँ कविता लेखेका छन् ।

धुलो, धुवाँ, सवारी साधनको कर्कस आवाजको अत्यासलाग्दो पीडा झेलिरहेका काठमाडौंबासी फुलको दृश्यमा यतिबेला केही शितल छाएको छ । बचेका वनस्पतिमा आएको हरियालीको प्राणले वातावरण केही सहज देखिन मद्दत गरेको छ । बाटो हिँड्ने पैदलयात्रीदेखि सवारीसाधनमा हिँड्नेहरुलाई उत्साही बनाएको छ । काठमाडौं उपत्यकाभरि यो अभियान चलाउनुपर्ने उनीहरुको भनाइ छ ।

करिडोरमा रोपिएका फूलको संरक्षण कसले गर्छ त ? हालसम्म बोटविरुवामा मलजलको व्यवस्था स्थानीय टोल र क्लबहरुले गर्ने गरेका छन् । तर त्यसको दीर्घकालीन व्यवस्था हुनुपर्ने स्थानीय बताउँछन् । फ्लाओरिङ पीचको नामले परिचित यी आरु र चेरीको कलमी गरेको फूलले वातावरण शोभायमान मात्र बनाएका छन, दुर्गन्धित खोलाको वातावरणबाट मान्छेको मन आफूतर्फ तानेका छन् ।

यस्ता फूल तथा बनस्पति रोप्ने कामको शुरुवात जापानी सहयोग नियोग जाइकाले र जापानी दुताबासको पहलमा भएको हो । त्यसैले चेरी फुल्दा जोकोहीले जापानको झल्को पाउने गरेका छन् । तर उचित संरक्षणको अभाव, खन्ने पुर्ने विकासको होड र फुटपाथ मिच्ने प्रवृत्तिले वातावरणमैत्री नयाँ योजना त परै जाओस, भएका वनस्पति मासिने क्रम तीब्र बनेको छ । यसतर्फ सरकारी, निजीक्षेत्र मात्र नागरिक स्तरमा समेत सचेत हुन आवश्यक छ ।