२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बजेट कटौतीको मारमा बालमन्दिरमा आश्रित बालबालिका, वृत्तिविकास ठप्प


130
Shares

काठमाडौं । असहाय बालबालिकाको भविष्य सुरक्षित गर्न देशका ७७ जिल्लामा दशकौंदेखि कार्यरत बाल मन्दिर संस्था आफैं असहाय बनेको छ । देशैभरि रहेका यसको जग्गा र भवनमा स्वार्थसमूहको आँखा लागेपनि बालबालिकाको भविष्य सुरक्षित गर्ने यो मन्दिरको साख बढाउने तर्फ कसैको ध्यान गएको छैन ।

जन्मदिने बाबुआमाको गलत क्रियाकलाप होस या भाग्यले साथ नदिएर अनाथ बनेका बालबालिकालाई उचित संरक्षण र शिक्षा दीक्षाका लागि आजभन्दा ६ दशकअघि तात्कालीन बडामहारानी रत्न राज्यलक्ष्मीको संरक्षकत्वमा बाल संगठन स्थापना भएको संगठन हो ।

काठमाडौंको नक्साल स्थित बालमन्दिर र यसै अन्तर्गतको सिफल आश्रयस्थलमा १ सय ५३ जना बालबालिकाले आश्रय पाएका छन् । बालमन्दिर भित्रको बेथिती अनि यहाँ आश्रित बालबालिका पोषण युक्त खानापानबाट बन्चित हुनु परेको बिषय कुनै नौलो होइन । यद्दपी दाताको सहयोगी हातले जेनतेन चलेको यो संस्थाका अधिकारीहरु बजेट अभावका कारण बालबालिकाको दैनिकी व्यवस्थापनमा समेत समस्या परेको नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने बताउनुहुन्छ ।

बाल संगठन प्रशासन स्रोत अभावमा बालबालिकाको बृति विकासका लागि आफूले चाहेर पनि कुनै कार्ययोजना बनाउन नसकेको बाध्यता देखाउँछ । नक्सालस्थित १ सय २ रोपनी जग्गामा रहेको बालसंगठनको संरचना २०७२ सालको भुकम्पले थिलथिलो पारेपछि बालबालिकाको खाना, नाना मात्र होइन, घामपानीबाट ओताउने छानामा समेत समस्या परेको छ । देशका सबैजसो जिल्लामा भौतिक सम्पत्ति रहेको बाल संगठनको अघिल्लो कार्यसमितिले बालबालिकालाई हेरचाहभन्दा भौतिक सम्पत्तिको हिनामिनामा ध्यान दिएको पाइएपछि सरकारले बजेट कटौती गर्दा त्यसको मारमा यहाँ आश्रित बालबालिका परेका छन् । स्रोत अभावमा उनीहरुको बृत्ति विकासबारे सोच्न समेत नसकिएको अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।

यहाँ रहेका अधिकांश बालबालिका आमाले अलपत्र छोडेका, बलात्कारबाट जन्मिएका, सडकमा भेटिएका अनाथ र असहाय बालबालिका रहेका छन् । यिनीहरुको स्याहार सुसारका पर्याप्त बजेट उपलब्ध गराउनु सरकारको कर्तव्य हो । सरकारी स्वामित्वमा रहेका बालबालिकाले शिक्षा, स्वास्थ्य र खानपानको पर्याप्त सुविधा पाउनु उनीहरुको अधिकार हो ।