२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


यू-१६ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम विजयी


91
Shares

कैलाली । कैलालीको धनगढीमा आइतबारदेखि एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री-१६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री-१६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सुदूरपश्चिम प्रदेशका कप्तान नरेन भट्टको कप्तानी पारीको मदत्तले सुदूरपश्चिमले पहिलो खेलमा सानदार जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन बनायो ।

कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेलेका हुन् । भट्टले ६६ बलमा ७१ रनमा अविजित रहेका थिए । सुदूरपश्चिमका लागि रिक्तिक थापाले १८, रविन भण्डारी र आशिष बलायरले १२-१२ रन तथा युवराज खत्रीले ११ रन बनाएका थिए । कर्णाली प्रेशका लागि दिप पौडेल र आदित्य विक्रम शाहले ३-३ विकेट लिएका थिए।

१ सय ४८ रनको विजय लक्ष्य पछ्याएर मैदान उत्रिएको कर्णाली प्रदेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो । यसका लागि आदित्य विक्रम शाहले २० रन बनाएका थिए । अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् ।

सुदूरपश्चिम प्रदेशका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले ३-३ विकेट लिएका थिए । विक्रम साउदले एक विकेट लिएका छन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम प्रदेशका कप्तान नरेन भट्ट म्यान अफ द म्याच भएका थिए । उनले नगद २ हजार रूपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत साेमबार दुई खेल हुने भएका छन् । लुम्बिनी प्रदेश र मधेश प्रदेशले पहिलो तथा बागमति प्रदेश र गण्डकी प्रदेशले दोस्रो खेल खेल्ने भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । यसअघि प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्स म्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद २ हजार रूपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्ष मुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्ये नजर गर्दै जिल्ला र प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो । एशियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुने भएकाे छ । सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने छ । त्यसबाट उत्कृष्ट १४ जनालाई १६ वर्ष मुनिको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम बनाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।