१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धनगढीको हाट-बजारमा भारतीय तरकारी बेच्न प्रतिबन्ध


299
Shares

कैलाली । धनगढीको त्रिनगर हाटबजारमा भारतीय तरकारी बेच्न प्रतिबन्ध लगाइएको छ ।

स्थानीय उत्पादनको बिक्रीका लागि सञ्चालन भएको हाटबजार बिचौलियाहरुको कब्जामा परेपछि धनगढी उपमहानगरले स्थानीय कृषकका उत्पादन मात्रै बिक्री गर्ने ब्यवस्था मिलाएको हो । माग धान्ने गरी धनगढीमा नै तरकारी उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ ।

कैलालीको धनगढी बजारको केन्द्र एल एन चोक नजिकै वनदेवी मन्दिरको छेउमा साताको तीन दिन हाटबजार लाग्छ । यहाँ तरकारी खरिद गर्न सयौ उपभोक्ताको भीड लाग्छ । तरकारी र फलफूल बिक्री गर्नेको पनि तछाड-मछाड नै हुने गर्छ ।

भारतबाट ल्याइएका तरकारी र फलफूलले हाटबजार भरिभराउ हुँदा स्थानीय कृषकलाई आफ्नो खेतबारीमा उब्जाएकाे तरकारी–फलफूलका लागि स्थान र मूल्य पाउन सकस थियो। तर धनगढी उपमहानगरपालिकाले भारतबाट ल्याइएका तरकारी, फलफूल हाटबजारमा बिक्री गर्न रोक लगाएपछि यहाँको दृश्य बदलिएको छ । उपमहानगरपालिकाको यो कदमलाई यहाँका नागरिकले स्वागत गरेका छन्।

भारतबाट विषादीयुक्त तरकारी बेच्ने बिचौलियाका कारण स्थानीय कृषक मर्कामा परेकाले उपमहानगरले भारतबाट ल्याइएको तरकारीलाई हाटबजारमा बिक्री गर्न रोक लगाएको हो । भारतबाट ल्याएको तरकारीले हाटबजार भरिएको हुन्थ्यो । विगतमा बिचौलियाको शासन चल्ने हाटबजारमा हाल कृषकले आफ्नो मूल्यमा तरकारी बिक्री गरिरहेका छन् ।

भारतबाट ल्याइएका तरकारी बिचौलियाले हाटबजारमा बिक्री गर्दा एकातिर स्थानीय कृषकले उब्जाएको तरकारी बेच्न नपाउने र अर्कोतिर नगरवासीले विषादी प्रयोग भएको तरकारी खानुपर्ने बाध्यताले गर्दा उपभोक्ता र कृषक दुवैकोहितका लागि स्वदेशी उत्पादन मात्रै बिक्री गर्न पाउने उपमहानगरले निर्णय गरेको हो ।

भारतीय तरकारीको प्रवेशलाई पूर्ण रुपमा रोक लगाएको नभइ स्थानीय कृषक र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्ध हुने हाटबजारमा बिचौलियाको मनोमानीलाई नियन्त्रण गरेको उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताउनुभयाे । उपमहानगरले स्थानीय कृषकका लागि सञ्चालित हाटबजारमा स्थानीय बाहेकका तरकारी बिक्री वितरणमा रोक लगाएर कृषकका साथै उपभोक्ताका लागि पनि हित गरेको छ ।

तर, स्थानीय उत्पादनले मात्रै यहाँको मागलाई धान्न नसकेमा फेरी भारतकै तरकारीको भर पर्नुपर्ने हुन्छ । तसर्थ उपमहानगरले अब यहाँको माग धान्ने गरी धनगढीमा नै तरकारी उत्पादनमा वृद्धि गर्न प्रेरित गर्नुपर्छ ।